नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डर सरु लिम्बू र रेनुका नगरकोटे सम्मिलित पारो महिला फुटबल क्लब भुटानको महिला राष्ट्रिय लिगको च्याम्पियन भएको छ।
पारोले चार वर्षपछि लिगको उपाधि जितेको हो। चाम्लिमिथाङमा मंगलबार लिगको अन्तिम खेलमा थिम्पु सिटी एफसीले रोयल थिम्पु कलेज (आरटिसी) एफसीलाई ३–१ ले हराएपछि पारोले उपाधि पक्का गर्यो।
अन्तिम खेलमा आरटिसी पराजित भएपछि पारो शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्न सफल भयो। अन्तिम खेलअघि १० खेलबाट २४ अंक जोडेको पारो शीर्ष स्थानमा थियो।
२३ अंकसहित दोस्रो स्थानमा रहेको आरटिसीलाई उपाधि जित्न बराबरी पर्याप्त थियो। तर, चाङ्लिमिथाङ भएको निर्णायक खेलमा थिम्पु सिटीसँग हारपछि पारोको उपाधि जित्ने बाटो खुल्यो।
प्रतिस्पर्धात्मक खेलमा थिम्पु सिटीले सुरुवाती अग्रता लिएको थियो। तथापि आरटिसीले पहिलो हाफमै बराबरी गोल फर्कायो।
खेलको ११ औं मिनेटमा होलाली अतिभोरले गोल गर्दै थिम्पु सिटीलाई अग्रता दिलाएकी थिइन्। तर, आरटिसीकी देकी ल्हाजोमले हेडरमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याइन्।
पहिलो हाफ बराबरीमा सकिएपछि दोस्रो हाफमा रोमाञ्चक हुने अनुमान थियो। दुवै टोलीले राम्रो प्रदर्शन पनि देखाए। तथापि थिम्पुले थप दुई गोल गर्यो।
खेलको ५२औं मिनेटमा अतिभोरले व्यक्तिगत दोस्रो गोल गरिन्। पेमा छोडेन छिरिङको पासमा गोल गर्दै उनले थिम्पु सिटीलाई २–१ को अग्रता दिलाइन्।
त्यसपछि थिम्पु सिटीले अर्को गोल थप्दै ३–१ को जित सुनिश्चित गर्यो। थिम्पु सिटीको जितसँगै आरटिसीको उपाधि जित्ने सम्भावना समाप्त भयो भने पारो च्याम्पियन बन्यो।
निर्णायक खेलमा उत्कृष्ट प्रदर्शन गरेकी थिम्पु सिटीकी गोलकिपर संगीता मोङ्गर वुमन अफ द म्याच घोषित भइन्। पारोले उपाधि जितेसँगै नेपाली महिला फुटबलका दुई स्टार सरु र रेनुकाका लागि विदेशी लिग सुखद् रह्यो।

प्रतिक्रिया