भारतले लद्दाखका २८ स्थानको नाम तोकेर आधिकारिक नक्सामा समावेश गरेपछि चीनले आपत्ति जनाएको छ। चीनले भारतले लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएको निर्णयलाई मान्यता नदिने बताउँदै नामकरण गर्दैमा भूभागमाथिको दाबी नबदलिने जनाएको छ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले मंगलबार भारतको कदम गैरकानूनी र अमान्य भएको बताइन्। उनका अनुसार चीन–भारत सीमाको पश्चिमी भागका सम्बन्धित क्षेत्र सधैँ चीनकै भूभाग हुन् र भारतको निर्णयले त्यसमा परिवर्तन गर्न सक्दैन।
भारतले पनि लद्दाख आफ्नो अभिन्न भूभाग भएको स्पष्ट पारेको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले लद्दाख प्रशासन र स्थानीय बासिन्दासँग परामर्श गरेर २८ स्थानको नाम तय गरिएको बताए। उनले ती स्थानको नाम आधिकारिक नक्सामा समावेश गर्नुको उद्देश्य तिनको सही पहिचान कायम गर्नु रहेको बताए।
भारतले अक्टोबर २ मा सार्वजनिक गरेको नामावलीमा गोगरा र हट स्प्रिङ्सजस्ता संवेदनशील क्षेत्र पनि छन्। यी क्षेत्रमा सन् २०२० मा भारतीय र चिनियाँ सेनाबिच तनाव बढेको थियो।
सोही वर्ष जुनमा गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबिच हिंसात्मक झडप भएको थियो। उक्त घटनामा भारतका २० सैनिक मारिएका थिए। चीनले सन् २०२१ मा आफ्ना चार सैनिकको मृत्यु भएको स्वीकार गरेको थियो।

प्रतिक्रिया