नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काम गर्दा स्पष्ट योजना, योग्यता र सक्रियताका साथ अघि बढ्नुपर्ने बताएका छन्।

च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले एकैपटक धेरै काममा हात हाल्नुभन्दा योजनाबद्ध ढंगले प्राथमिकताका आधारमा काम गर्नुपर्नेमा जोड दिए।

ओलीले काम सुरु गर्नुअघि कहाँबाट सुरु गर्ने र कहाँ पुगेर टुंग्याउने भन्ने स्पष्ट हुनुपर्ने बताए।

‘सबै चिज एकैचोटि गर्ने होइन, मेलो मिलाएर पालैपालो योजनाबद्ध ढंगले काम गर्नुपर्छ,’ उनले भने, ‘कताबाट थाल्ने र कति समयमा कति काम सक्ने भन्ने योजना बनाएर काम गर्नुपर्छ।’

उनले काममा सफलता प्राप्त गर्न आफ्नो क्षमता वृद्धि गर्नुपर्ने र हासिल गरेको क्षमतालाई व्यवहारमा उतार्नुपर्ने बताए।

नीति निर्माण, निर्णय र योजना बनाउँदा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिँदै ओलीले गलत बाटोमा हिँड्दा समय र अवसर दुवै गुम्ने बताए।

‘उल्टो बाटो हिँडियो भने जति उल्टो बाटो हिँडिन्छ, त्यति घाटा पर्छ। जानुपर्ने छ पोखरा लागियो बनेपा तिर भने। बनेपा पुगेपछि थाहा पाइयो भने? अर्को मान्छे त धादिङ तिर कहाँ पुगिसक्या हुन्छ।,’ उनले भने।

गलत निर्णय सच्याउन समय लाग्ने र त्यतिबेलासम्म अरू अघि बढिसक्ने भएकाले निर्णय प्रक्रियामा गल्ती हुन नदिनुपर्ने उनले बताए।

ओलीले समस्या आउनु स्वाभाविक भए पनि त्यसलाई बल्झाउने नभई समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताए।

‘समस्या समाधान नहुने केही पनि हुँदैन। समस्या समाधान गर्न सकिन्छ। समस्याको समाधान गर्ने हो, बल्झाउने र बढाउने होइन,’ उनले भने।

पार्टीले अहिले जटिल परिस्थिति सामना गरिरहेको उल्लेख गर्दै ओलीले कठिन समयमा धैर्य र विवेकका साथ अघि बढ्नुपर्ने बताए।

‘यतिबेलाको परिस्थिति अलि जटिल छ हामी सबैलाई थाहा छ। हामीले धक्का खाएका छौ। सम्पन्नता हुन थाल्यो, सफलता मिल्न थाल्यो भने साथीभाइको ओइरो हुन्छ। तर विपन्नता हुन थाल्यो, असफलता हुन थाल्यो र ओरालो लाग्यो भने ढंग छैन तेरो, बुद्धि छैन तेरो भन्न थाल्छन्,’ उनले भने।