नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्कामाथि हिरासतबाहिर राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
सोमबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले खड्कालाई थुनामा नराखी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इजरायलमा केयरगिभरका रूपमा पठाइदिने भन्दै ठगी गरिएको घटनाको अनुसन्धानका क्रममा असोज २३ गते खड्कालाई पक्राउ गरेको थियो। प्रहरीले उनीमाथि ठगी, आपराधिक विश्वासघात र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पेस गरिएकी खड्कालाई भने अदालतले हिरासतमा राख्न आवश्यक नदेखिएको ठहर गरेको हो।
अदालतको आदेशमा पक्राउ परेका अन्य प्रतिवादीको बयानमा खड्काको संलग्नता खुल्ने अवस्था नदेखिएको उल्लेख छ। त्यस्तै, अन्य पीडितले दिएको जाहेरीमा पनि खड्काले रकम लिएको वा कसुरमा संलग्न रहेको देखाउने तथ्य उल्लेख नभएको आदेशमा जनाइएको छ।
यस प्रकरणमा प्रहरीले यसअघि भरत चौलागाईंसहित चार जनालाई पक्राउ गरेको थियो। रामेछापका चौलागाईं यसअघि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत थिए।
प्रहरीमा परेको जाहेरीअनुसार चौलागाईंसहितका व्यक्तिहरूले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग चिनजान रहेको भन्दै १५६ जनालाई इजरायल पठाइदिने आश्वासन दिएर दुई करोड ५० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोप छ।
नेपाल सरकार र इजरायल सरकारबीच सरकार–सरकार (जीटुजी) प्रक्रियाअन्तर्गत सन् २०२४ मा केयरगिभरका लागि परीक्षा सञ्चालन गरिएको थियो। उक्त परीक्षामा तीन हजार ४६१ जना उत्तीर्ण भएका थिए। उनीहरू इजरायल जाने प्रक्रियाको प्रतीक्षामा थिए।
यही अवस्थाको फाइदा उठाउँदै १५६ जनालाई मन्त्रिपरिषद्बाट निर्णय गराएर इजरायल पठाइदिने झुटो आश्वासन दिई रकम असुलिएको आरोप लगाइएको छ।
अदालतको आदेशअनुसार खड्कालाई हिरासतमा नराखी अनुसन्धान गरिनेछ। उनीमाथि लगाइएका आरोप भने अनुसन्धानबाट पुष्टि हुन बाँकी छन्।

प्रतिक्रिया