बडादसैंको अवसरमा नगरकोटमा चारदिने ‘चङ्गा चेट’ प्रि-दसैं उत्सव आयोजना हुने भएको छ।
केही वर्षयता रोकिएको दुई दशक लामो चङ्गा उडाउने मौलिक परम्परालाई ब्युँझाउँदै नगरकोटमा आगामी असोज २८ देखि ३१ गतेसम्म चारदिने ‘चङ्गा चेट’ प्रि-दसैं उत्सव आयोजना गरिने भएको हो।
नेपालीहरूको मौलिक चाडपर्व, संस्कार र परम्पराको संरक्षण गर्दै पारिवारिक जमघटलाई उल्लासमय बनाउने उद्देश्यका साथ नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटमा उत्सव हुन लागेको हो।
आधुनिकतासँगै नयाँ पुस्तामाझ चङ्गा उडाउने संस्कृति हराउँदै जान थालेपछि त्यसलाई पुनः जीवन्त बनाउन र नेपाल घुम्न आएका विदेशी पर्यटकलाई समेत नेपाली संस्कृतिको मिठास चखाउन यो कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।
चार दिनसम्म चल्ने यस उत्सवमा चङ्गा उडाउने प्रतिस्पर्धासँगै, दर्शकका लागि बहुआयामिक मनोरञ्जनको प्रबन्धसमेत मिलाइएको छ। कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरूको लाइभ म्युजिक, सांस्कृतिक नृत्य, स्ट्यान्डअप कमेडी, जादु प्रदर्शन, फेस पेन्टिङ र माटोका भाँडा बनाउने परम्परागत पोटरी कला मुख्य आकर्षणका रूपमा रहनेछन्।
उत्सवमा सहभागी हुने पाहुनाहरूले दसैंका विशेष परिकारहरूको स्वाद लिन पाउनेछन्। साथै, चिसो मौसमलाई मध्यनजर गर्दै रिट्रिट परिसरमा हिटेड स्विमिङ पुल र ज्याकुजीको आनन्द लिने व्यवस्थासमेत गरिएको छ।
काठमाडौं उपत्यकाबाट नगरकोट पुग्न चाहने सर्वसाधारण तथा परिवारका लागि अतिरिक्त शुल्कमा सहज यातायातको प्रबन्ध मिलाइएको आयोजक संस्थाले जनाएको छ।
‘यसपालिको दसैं… आकाशमा चङ्गा, मनमा उमङ्ग !’ भन्ने नारा तय गरिएको यो उत्सवले नगरकोटको सुस्ताएको पर्यटनलाई गति दिन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
नगरकोटका पर्यटन व्यवसायी तथा माउन्टेन भिस्टा रिट्रिटका सञ्चालक अर्जुन सिंह ठकुरीका अनुसार चङ्गा चेटलाई पुरानो परम्पराको पुनरुत्थानसँगै नयाँ पुस्तालाई आफ्नो मौलिक जरासँग जोड्ने पुलका रूपमा विकास गरिएको हो।
‘नगरकोटमा दुई दशकअघिदेखि चङ्गा चेट उत्सव हुँदै आएको लामो इतिहास छ,’ व्यवसायी ठकुरीले भने, ‘बीचका केही वर्ष विभिन्न कारणले यो रोकियो। तर, यस वर्षदेखि हामीले यसलाई अझ भव्य रूपमा पुनः सुरु गर्न लागेका हौं।’
उनले कार्यक्रमलाई सामान्य मनोरञ्जनमा मात्र सीमित नराखी आगामी दिनमा नगरकोटको विशिष्ट वार्षिक सांस्कृतिक महोत्सवका रूपमा स्थापित गर्ने योजना रहेको जानकारी दिए।
नगरकोटको मनोरम प्राकृतिक वातावरण, परम्परागत संस्कृति र पारिवारिक उत्सवलाई एउटै थलोमा संयोजन गरिएको ‘चङ्गा चेट’ ले दसैंको रौनक थप्नुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा भर्ने देखिएको छ।

प्रतिक्रिया