बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाईसी अपडेट गर्ने बहानामा सर्वसाधारणका बैंक खाता तथा डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्‍याई करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा रौतहट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले गौर नगरपालिका वडा नम्बर ३ र ५ बाट पक्राउ परेका तीन जनालाई सोमबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा भारतको बिहारस्थित सीतामढीका २४ वर्षीय मोहम्मद साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका वडा नम्बर ५ का १८ वर्षीय नितेश कुशवाहा रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका एसपी सीताराम रिजालका अनुसार केवाईसी अपडेट गर्ने भन्दै फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गरी भिडियो कलमा स्क्रिन सेयर गर्न लगाउने र गुगल फारममार्फत बैंकिङ विवरण संकलन गरेर ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यसरी प्राप्त विवरण प्रयोग गरी पीडितका खाताबाट रकम अन्य बैंक खाता तथा क्यूआर कोडमार्फत स्थानान्तरण गर्ने गरेको एसपी रिजालले बताए। बैंकिङ ठगीसम्बन्धी हालसम्म २२ वटा उजुरी प्राप्त भएको र ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको उनले जानकारी दिए।

प्रहरीले आरोपितहरूको साथबाट नेपाली तथा भारतीय रुपैयाँ, सात थान मोबाइल, ११ थान सिमकार्ड, एटीएम कार्ड, चेकबुक, रकम जम्मा गरेका भौचर तथा बैंकिङ कारोबारसम्बन्धी कागजात बरामद गरेको जनाएको छ।

ठगीबाट प्राप्त रकम क्रिप्टोकरेन्सीमा लगानी गरिएको हुन सक्ने आशंकामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले बैंक वा डिजिटल वालेटको केवाईसी अपडेट गर्ने भन्दै अपरिचित व्यक्तिले मागेको ओटीपी, पिन, पासवर्ड तथा बैंकिङ विवरण नदिन र मोबाइलको स्क्रिन सेयर नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।