प्रधानमन्त्री बालेन शाहले गोरखाको बुढीगण्डकी नदीमा आएको भीषण बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि ४ वटा हेलिकोप्टरसहित ४३७ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत घटनाको ब्रफिङ दिँदै उनले बाढीमा परी ५ जना बेपत्ता भएको र ४८ जनाको सकुशल उद्धार गरिएको बताएका हुन्।
प्रधानमन्त्री शाहका अनुसार बाढीमा बेपत्ता भएका ५ जनाको खोजी कार्य तीव्र पारिएको छ। प्रभावित गोरखाको सल्लेरीस्थित निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाका १२ कर्मचारीसहित ४८ जनालाई जीवितै उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।
गोरखाको चुमनुव्री गाउँपालिका-६ लोक्पा र चुम्लिङको बीचमा आइतबार बिहान गएको ठूलो पहिरोले बुढीगण्डकी थुनिएपछि तल्लो तटीय क्षेत्रमा भीषण बाढी आएको हो।
बाढीले झोलुङ्गे तथा पक्की पुल, टेलिफोन टावर, बिजुलीका पोल, निर्माणाधीन बुढीगण्डकी हाइड्रो क्याम्प क्षेत्र, उपकरणहरू तथा वरपरका बस्तीका घरहरू बगाएको छ। घटनाको यकिन कारण पत्ता लगाउन ड्रोनसहित तीन सदस्यीय भूगर्भविद्को टोली परिचालन गरिएको छ।
उद्धार कार्यका लागि नेपाली सेनाका तीनवटा ‘स्पेसल फोर्स’ सहित १२७, नेपाल प्रहरीका १३३ र सशस्त्र प्रहरी बलका १७७ गरी कुल ४३७ जना सुरक्षाकर्मी खटिएका छन्।
यसका साथै नेपाली सेनाका चारवटा हेलिकोप्टर उद्धारमा परिचालित छन् भने नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा ५० जनाको विशेष टोली तयारी अवस्थामा राखिएको छ।
बाढीको पूर्वसूचना प्रणालीलाई चुस्त बनाउँदै जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र बाढी पूर्वानुमान महाशाखाले गोरखा, धादिङ र चितवनको बेनिघाटसम्मका बासिन्दालाई दुई पटक गरी करिब २ लाख एसएमएस पठाएका थिए।
त्यसैगरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहान ६ बजे नै गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम) का २२१ जना प्रतिकार्यकर्तालाई तत्काल कार्यक्षेत्रमा खटिन एसएमएस पठाएको थियो।
प्रधानमन्त्री शाहले क्षतिग्रस्त पूर्वाधार पुनर्स्थापनाका लागि आरुघाटमा तत्काल बेलिब्रिज जडान गर्न तयारी थालिएको बताएका छन्।
यसका लागि सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको प्राविधिक टोली अध्ययनका लागि खटिसकेको छ। प्रभावित क्षेत्रमा स्थल र हवाई दुवै मार्गबाट अत्यावश्यक राहत सामग्री ढुवानी भइरहेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नेतृत्वमा आपत्कालीन चिकित्सकसहितको स्वास्थ्य टोली तथा गोरखा, लमजुङ र तनहुँका जिल्लास्तरीय द्रुत प्रतिकार्य टोली तयारी अवस्थामा राखिएका छन्। बाढीग्रस्त क्षेत्रमा अलपत्र परेका पर्यटकहरूको शीघ्र उद्धार गर्न सम्बन्धित मन्त्रालय तथा कम्पनीहरूलाई निर्देशन दिइसकिएको छ।
प्रधानमन्त्री शाहले बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त सडक तथा पुलबाट आवागमन नगर्न र स्थानीय प्रशासन एवम् सुरक्षा निकायका निर्देशनहरू पालना गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया