अभिषेक शर्माको विस्फोटक अर्धशतक र अर्शदीप सिंहको तीन विकेटसँगै भारतले वेस्ट इन्डिजविरुद्धको तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा १४ रनको जित निकालेको छ। गएराति भएको खेलमा भारतले दिएको २२४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०९ रन मात्र बनाउन सक्यो।
पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा सबै विकेट गुमाएर २२३ रन बनाएको थियो। भारतका लागि अभिषेक शर्माले सर्वाधिक ६९ रन बनाए। उनले ३० बलमा ६ चौका र ५ छक्का प्रहार गरे। उनको आक्रामक ब्याटिङका कारण भारतले पावरप्लेमा एक विकेट गुमाएर ८७ रन जोडेको थियो।
इशान किशनले १८ बलमा ३७ रन बनाए। उनले ६ चौका र एक छक्का प्रहार गरे। अभिषेक र किशनले तीव्र गतिमा रन जोड्दा भारत ठूलो योगफलतर्फ अघि बढेको थियो। तर, किशन आउट भएपछि भारतीय ब्याटिङको गति सुस्त बन्यो। श्रेयस अय्यर एक रनमै आउट भए भने अभिषेक पनि ६९ रन बनाएर पवेलियन फर्किए।
तिलक वर्माले १६ बलमा २८, नितिशकुमार रेड्डीले १४ बलमा २१ र अक्षर पटेलले १४ बलमा २० रन बनाए। नमन धीरले पाँच बलमा १० रन जोड्दा प्रिन्स यादवले ६ बलमा अविजित १३ रन बनाए। अर्शदीप सिंहले आठ बलमा ११ रनको योगदान दिए।
वेस्ट इन्डिजका लागि रोस्टन चेज, शमर जोसेफ र शमर स्प्रिङ्गरले समान दुई विकेट लिए। किमो पल र गुडाकेश मोतीले एक-एक विकेट हात पारे।
२२४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले सुरुमै कप्तान शे होपलाई पाँच रनमा गुमायो। अर्शदीप सिंहले उनलाई बोल्ड गरेका थिए। त्यसपछि कामिल पूरन र शिमरोन हेटमायरले आक्रामक ब्याटिङ गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे।
कामिल पूरनले २७ बलमा ४२ रन बनाए। उनले तीन चौका र तीन छक्का प्रहार गरे। हेटमायरले २६ बलमा ४३ रन जोड्ने क्रममा ६ चौका र दुई छक्का हिर्काए। तर, दुवै ब्याटरलाई नमन धीरले आउट गरेपछि वेस्ट इन्डिज दबाबमा परेको थियो।
रोभमन पावेल पाँच रनमा आउट भए। शेरफेन रदरफोर्डले २० बलमा ३२ रन बनाए भने क्विन्टन स्याम्पसनले १५ बलमा २१ रन जोडे। किमो पलले १० रन बनाए। अन्तिमतिर शमर स्प्रिङ्गरले आक्रामक ब्याटिङ गर्दै ११ बलमा अविजित ३५ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। उनले चार छक्का र दुई चौका प्रहार गरे।
भारतका लागि अर्शदीप सिंहले चार ओभरमा ४४ रन खर्चेर तीन विकेट लिए। नमन धीरले तीन ओभरमा ३९ रन दिँदै दुई विकेट लिए। अक्षर पटेल र नितिशकुमार रेड्डीले एक-एक विकेट हात पारे। जित सँगै भारतले पाँच म्याचको सिरिजमा २-१ को अग्रता लिएको छ।

प्रतिक्रिया