नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले माधवकुमार नेपालले एमालेसँगको एकता प्रक्रियामा आफू पनि बराबरीको अध्यक्ष हुनुपर्ने अडान राखेपछि एकता भाँडिएको बताएका छन्।

नागरिक फ्रन्टलाइनसँगको अन्तर्वार्तामा खनालले एकताका लागि दशबुँदे सहमति भइसकेको र पत्रकार सम्मेलनसमेत भएको अवस्थामा अध्यक्षको विषयमा कुरा नमिल्दा एकता हुन नसकेको बताएका हुन्।

‘दुईवटा अध्यक्ष हुनुपर्‍यो, बराबरी अध्यक्ष मलाई पनि अध्यक्ष नभईकन हुन्न भन्ने माधव कमरेडको भनाइले एकता नभएको रहेछ,’ उनले भने।

एकता प्रक्रिया असफल भएपछि आफूले यसबारे थप बुझ्दा दुई पक्षबीचको अवस्था सोचेभन्दा फरक पाएको खनालको भनाइ छ। उनले त्यसबेला वैचारिक मतभेदसहितका समस्या पार्टीभित्रै रहेर संघर्ष गर्दै समाधान गर्न पाएको भए परिस्थिति फरक हुन सक्ने बताए।

खनालले एमालेभित्र वैचारिक समस्या रहेको उल्लेख गर्दै जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त बनाएर समाजवादमा पुग्ने अवधारणामाथि पनि प्रश्न उठाए।

‘हामी समाजवादी क्रान्ति र समाजवादी रूपान्तरणको कुरा गरिरहेका छौँ । अब जबजलाई मार्गदर्शक सिद्धान्त बनाएर समाजवादमा पुग्ने भन्ने त कल्पना पनि गर्न सकिँदैन,’ उनले भने।