काठमाडौं महानगरपालिकाले स्वास्थ्य सेवा र आपत्कालीन उद्धारलाई प्रभावकारी बनाउन बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सुरु गरिएको जानकारी दिएकी हुन् । उनका अनुसार काठमाडौंका साँघुरा गल्ली, घना बस्ती र चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने स्थानलाई लक्षित गरी बाइक एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।

डंगोलले काठमाडौंमा एम्बुलेन्सको संख्या कम भएर भन्दा पनि ट्राफिक जाम र साँघुरा सडकका कारण समयमै बिरामीसम्म पुग्न नसक्नु मुख्य चुनौती रहेको बताइन् ।

‘काठमाडौंमा पर्याप्त एम्बुलेन्स छन्, तर समयमा सेवा दिन सकिएको छैन । ट्राफिक जामका कारण धेरैपटक एम्बुलेन्स समयमै पुग्न सक्दैन,’ उनले भनिन् ।

उनका अनुसार महानगरपालिकाले स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउन विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गर्दै आएको छ । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई कम गर्ने उद्देश्यले यस्तो सहकार्य गरिएको उनले बताइन् ।

महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रस्तुतिकरण कार्यक्रममा बोल्दै डंगोलले महानगरपालिकासँग सहकार्य गरेका १३ वटा अस्पताल तथा स्वास्थ्य संस्थाका प्रतिनिधिले अनुदानको उपयोग, उपचार पाउने बिरामीको संख्या र सेवाको प्रभावकारिताबारे जानकारी गराएको बताइन् ।

महानगरपालिकाले स्वास्थ्य संस्थाको आवश्यकता र उपलब्ध तथ्यांकका आधारमा पूर्वाधार निर्माण, उपकरण खरिद तथा प्रत्यक्ष स्वास्थ्य सेवामा सहयोग गर्दै आएको उनले जानकारी दिइन् ।

उनका अनुसार कीर्तिपुरमा यसपटक पूर्वाधार र उपकरणभन्दा प्रत्यक्ष स्वास्थ्य सेवामा सहयोग गरिएको छ । विशेषगरी आर्थिक अभावका कारण जलनका बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भनेर महानगरपालिकाले कोष स्थापना गरी आवश्यक बिरामीको उपचारमा खर्च गर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, कान्ति बाल अस्पतालमा पूर्वाधार निर्माणका लागि सहकार्य भइरहेको छ भने डल्लु क्षेत्रमा पनि पूर्वाधार विकासमा सहयोग गरिएको छ । मनमोहन अस्पतालमा सघन उपचार कक्षको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको डंगोलले बताइन् ।

महानगरपालिकाले नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यमा निःशुल्क एम्बुलेन्स सेवा पनि सञ्चालन गर्दै आएको छ । १०२ नम्बरमा फोन गरेर लिन सकिने उक्त सेवा काठमाडौं महानगर क्षेत्रबाहेक उपत्यकाका विभिन्न स्थानीय तहमा समेत विस्तार गरिएको छ ।

डंगोलले बाढीका बेला पनि १०२ नम्बरको एम्बुलेन्स सेवामार्फत तत्काल उद्धार र स्वास्थ्य सेवा प्रदान गर्न छिटो प्रतिक्रिया दिन सकिएको बताइन् ।

बाइक एम्बुलेन्स सेवाले विशेषगरी सवारी चाप, साँघुरा सडक र गल्लीका कारण चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने स्थानमा आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराउन सहज हुने महानगरपालिकाको अपेक्षा छ ।