नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका कुनै पनि नेताको व्यक्तिगत आचरण र कमजोरीको जिम्मेवारी सिंगो पार्टीले लिन नहुने बताएका छन्। नेताको व्यक्तिगत जीवनमा कमजोरी देखिए त्यसको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने उनको भनाइ छ।

दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले नेपाली कांग्रेस कुनै नेताको निजी कम्पनी नभई लाखौँ सदस्य, समर्थक र शुभेच्छुकको साझा सार्वजनिक सम्पत्ति भएको बताए।

‘म पार्टी सभापति छु। मेरो आफ्नो व्यक्तिगत जीवनमा, मेरो आचरणका कुरामा कहीँकतै कमजोरी भयो भने त्यसको भारी मैले बोक्नुपर्छ। त्यसको भारी नेपाली कांग्रेसले बोक्नु हुँदैन,’ उनले भने।

नेतृत्वको बचाउ गर्नु भनेको व्यक्तिका सबै कमजोरीको बचाउ गर्नु नभई उसले निर्वाह गरेको जिम्मेवारी र कामको मूल्याङ्कन गर्नु भएको थापाले बताए। पार्टीभित्रको कमजोरी सफा गर्दै जनताले चाहेको स्थानमा कांग्रेसलाई पुर्‍याउने प्रयास गरिने उनले उल्लेख गरे।

कांग्रेसको १५औँ महाधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया अन्तिम चरणमा पुग्दै गर्दा थापाले आन्तरिक प्रतिस्पर्धामा निर्वाचित हुन नसकेका नेताहरू अयोग्य नहुने बताए। निर्वाचनमा जित्ने र हार्ने दुवै पक्षलाई समेटेर पार्टी अघि बढाउने उनको भनाइ छ।

‘यो प्रतिस्पर्धामा नआउनुभएका साथीहरू सम्पूर्ण रूपमा अयोग्य होइनन्। अहिले एकदम योग्य साथीहरू, जसलाई मेरो टिममा बसेर काम गरिदिए हुन्थ्यो भन्ने सोचेको थिएँ, उहाँहरू पनि आन्तरिक प्रतिस्पर्धामा छुट्नुभएको छ,’ थापाले भने, ‘जित्नेले जित्यो, हार्नेले सम्पूर्ण रूपमा गुमायो भन्ने होइन। छुटेका साथीहरूलाई पनि समेटेर लैजान्छु।’

उनले पार्टीभित्र लामो समयदेखि संस्थागत रूपमा रहेका दुई समूह वा गुटको प्रभाव यसपटकको महाधिवेशनमा कमजोर भएको उल्लेख गर्दै त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताए। थापाले कांग्रेसको निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रविधिको प्रयोगबाट पार्टीका सबै सदस्यले सभापति चुन्न सक्ने व्यवस्था गर्न सकिने बताए।

सभापति थापाले कांग्रेसले संगठन सञ्चालन गर्ने, काम गर्ने र सोच्ने तरिका बदल्नुपर्ने बताए। पार्टीका नियमित कामलाई पदाधिकारी तथा केन्द्रीय समितिका जिम्मेवार नेताहरूले अघि बढाउने र आफू जनताका कुरा सुन्न देशभर पुग्ने उनको योजना छ।

‘हामी आफैँ बस्ने, आफैँ कुरा गर्ने र आफैँ ताली बजाउने गर्नु हुँदैन। हामी आफूभन्दा बाहिर निस्केर समाजमा जानुपर्छ, त्यहाँका कुरा सुन्नुपर्छ र ती विषयको समाधान खोज्नुपर्छ,’ उनले भने।