कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामप्रसाद महतोले आफ्नै देशको सम्भावनालाई पहिचान गर्न युवाहरूलाई आग्रह गरेका छन्। बिहीबार उद्योग संगठन मोरङमा आयोजित डिजाइन एन्ड थिङ्किङ कार्यशालाको समापन कार्यक्रममा मन्त्री महतोले युवाहरूलाई यस्तो आग्रह गरेका हुन्।

मन्त्री महतोले नेपालमा आर्थिक उन्नतिका प्रशस्त सम्भावना रहेकाले ती सम्भावनालाई पहिचान गरी आफ्नै देशमा उद्यम गरेर देशलाई सक्षम बनाउन युवाहरूलाई अनुरोध गरे। मन्त्री महतोले युवाहरूले सुटकेस बोकेर रोजगारीका लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको भन्दै त्यसका लागि सबै पक्षले वातावरण तयार पार्न आवश्यक रहेको बताए।

कोशी प्रदेशमा पर्याप्त सम्भावना रहे पनि त्यसलाई युवाहरूले चिन्न नसकेको मन्त्री महतोको भनाइ छ। उनले कृषिलाई उद्योगसँग जोडेर किसानले उत्पादन गरेका वस्तुलाई उद्योगले कच्चा पदार्थका रूपमा प्रयोग गर्ने वातावरण बनाउन आफू लागिपरेको स्पष्ट पारे। महतोले कृषि र उद्योगलाई जोड्न सके किसानका उत्पादन खेर नजाने र उद्योगले पनि स्वदेशमै कच्चा पदार्थ पाउने धारणा राखे।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उद्योगका जटिल समस्या परम्परागत सोच र अभ्यासबाट मात्रै समाधान गर्न कठिन हुने बताए। उनले उद्योगको आवश्यकता र शैक्षिक क्षेत्रको ज्ञान तथा सिर्जनशीलतालाई एकै ठाउँमा ल्याउन डिजाइन थिङ्किङजस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे।

राठीले विद्यार्थीलाई रोजगारी खोज्ने जनशक्तिमा मात्र सीमित नराखी भविष्यमा रोजगारी सिर्जना गर्न सक्ने उद्यमीका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। युवा उद्यमीप्रतिको नकारात्मक सोच हटाउन परिवारबाट समेत सहयोग आवश्यक रहेको उनले बताए। उनले युवा उद्यमीहरूलाई अप्ठ्यारो परेको अवस्थामा संरक्षण गर्न उद्योग संगठन मोरङले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।

कार्यक्रममा विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका २० जना विद्यार्थी सहभागी भएका थिए। उद्योग संगठन मोरङको उद्यमशीलता तथा नवप्रवर्तन इकाइद्वारा आयोजित चारदिने कार्यशालामा सहभागी विद्यार्थीहरूले उत्पादनसँगै कृषि, बैंकिङ तथा वित्तीय क्षेत्रका समस्या पहिचान गर्दै सम्भावित समाधानका लागि विकल्पसहितका प्रोटोटाइप तयार पारेका थिए।