चाडबाडको मुखमा मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर दुई सातादेखि ठप्प हुँदा गण्डकी प्रदेशका हिमाली तथा पहाडी जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ।
कालीगण्डकी नदीको बाढीले लोकमार्गको पर्वत-बागलुङ जोड्ने मालढुङ्गा पुल र करिडोरअन्तर्गत म्याग्दीको पोखरेबगर पुलको पहुँच मार्ग बगाएपछि डोल्पादेखि कोरला नाकासम्मको सिधा सडक सम्पर्क टुटेको हो।
नेपाल-चीन सीमा जोड्ने कोरला नाका अवरुद्ध भएपछि दसैं-तिहार लक्षित सामग्री बोकेर चीनबाट भित्रिएका सयौं कन्टेनरहरू मुस्ताङमै रोकिएका छन्। सीमापार व्यापार ठप्प हुँदा आयातकर्ताहरू मर्कामा परेका छन् भने मुस्ताङमा दैनिक उपभोग्य वस्तुको अभाव देखिन थालेको छ।
अर्कातर्फ, मुस्ताङका किसानले उत्पादन गरेको दसैंको मुख्य आकर्षण मानिने स्याउ बजारसम्म ढुवानी गर्न नपाउँदा कुहिने जोखिम बढेको छ। ढुवानी रोकिएकै कारण स्थानीय बजारमा उपभोग्य वस्तुको मूल्य आकाशिएको छ।
मालढुङ्गा पुल भत्किएपछि काठमाडौं र पोखराबाट बागलुङ हुँदै रुकुमपूर्व, रुकुमपश्चिम र डोल्पासम्म गुड्ने लामो दूरीका रात्रि तथा दिवा बस सेवा पूर्ण रूपमा रोकिएका छन्।
धवलागिरि-गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीका अनुसार लामो दूरीका ठूला बस चल्न नसकेपछि यात्रुहरू महँगो भाडा तिरेर जोखिमपूर्ण वैकल्पिक सडकबाट जिप र माइक्रोमार्फत यात्रा गर्न बाध्य छन्।
कतिपय यात्रुहरू मालढुङ्गा नजिकैको खनियाघाट झोलुङ्गे पुलमा झरेर भारी बोकी वारपार गरेपछि अर्को सवारी साधन फेरेर बागलुङ पुग्ने गरेका छन्। केही सवारी भने दोबिल्ला-फलेवास-जैमिनीघाट तथा बेनी-रत्नेचौरको घुमाउरो बाटो प्रयोग गरिरहेका छन्।
सडक सञ्जाल विच्छेद भएपछि पोखरा-जोमसोम हवाई मार्गमा यात्रुको अत्यधिक चाप बढेको छ। सोह्र श्राद्धमा कागबेनीमा पिण्डदान गर्न र मुक्तिनाथ दर्शन गर्न जाने तीर्थयात्री तथा विदेशी पर्यटकहरू जहाजमा भर पर्नुपरेको छ।
जोमसोम विमानस्थलका प्रमुख विश्वनाथ शर्माका अनुसार तारा र समिट एयरले नियमित ५/५ उडान भर्दै आएकामा चाप बढेपछि अहिले दैनिक ७/७ वटासम्म उडान गरिरहेका छन्। तैपनि चाप थेग्न मुस्किल परिरहेको छ।
गत असोज ८ देखि ११ गतेसम्मको भारी वर्षाले पारेको यो संकट समाधान गर्न सडक विभागले तीव्र गतिमा मर्मत थालेको छ।
सडक डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले ग्याबिन र जियोब्याग प्रविधिबाट मालढुङ्गा पुलको मर्मत भइरहेको र चार-पाँच दिनभित्र अर्थात् दसैंअगावै सञ्चालनमा ल्याइने बताए।
यस्तै, बेनी-जोमसोम-कोरला सडक आयोजनाले पनि आगामी सोमबारसम्म पोखरेबगर पुल अस्थायी रूपमा सञ्चालनमा ल्याउने गरी रातदिन काम भइरहेको जनाएको छ।

प्रतिक्रिया