कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारले यातायात कार्यालयमा लुटतन्त्र ब्युँताउन खोजेको आरोप लगाएका छन्।
बिहीबारको प्रदेशसभा बैठकमा पूर्वमन्त्री भण्डारीले यस्तो आरोप लगाएका हुन्।
भण्डारीले यातायात कार्यालयहरूमा विगतमा डाक्टरहरूले सेवाग्राहीलाई आँखा जाँचका नाममा फेल पारेर बिचौलिया मार्फत पैसा असुल्दै पास गर्ने प्रवृत्ति पुनः भित्राउन खोजेको आरोप लगाएका हुन्।
सरकारले पुरानै लुटतन्त्र ब्युँताउन खोजेको आरोप लगाउँदै भने,‘कि त अहिलेको व्यवस्था ठिक भएन भन्नुपर्यो हैन भने कि त पुरानै लुटतन्त्र ब्युँताउन खोजिएको स्पष्ट पार्नुपर्यो।’
भण्डारीले विगतमा डाक्टरहरूले निःशुल्क सेवा दिने भन्दै निवेदन हाल्ने र सेवा दिने बेलामा सेवाग्राहीहरूलाई दुःख दिएर एक हजार रुपैयाँ देखि ३ हजार रुपैयाँसम्म लुट्ने गरेको बताए।
यातायात कार्यालयमा स्वास्थ्य जाँचका नाममा भइरहेको लुटतन्त्र अन्त्य गर्न सरकारी डाक्टरबाटै आँखा जाँचको व्यवस्था गरिएको दाबी गर्दै सरकारले अहिले पुनः पुरानै व्यवस्था लागू गर्न खोजेको प्रति आपत्ति समेत जनाएका छन्।

प्रतिक्रिया