फाल्गुन १८, काठमाडौँ — आगामी चैत तेस्रो साता राजधानीको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पो आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा ‘नेपालको जलविद्युतको बजारीकरण’ भन्ने नाराका साथ आगामी चैत १८ देखि २० गतेसम्म हिमालयन हाइड्रो एक्स्पो सञ्चालन हुन लागेको हो ।  

नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइ कमिसन कन्ट्री पार्टनर रहनेगरी भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा एक्स्पो आयोजना हुन लागेको हो । भारतीय राजदूतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा नेपाल र भारतका ऊर्जासम्बद्ध व्यक्ति तथा संस्थाका बीचमा पारस्परिक सहकार्यमा समेत सहजता आउने इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । ‘जलविद्युतको बजार विस्तारका साथै भारतीय लगानी र सहकार्यको अवसर पनि एक्स्पोले जुटाउनेछ’ उनले भने ।

नेपालमा जलविद्युत् तथा ऊर्जा क्षेत्रमा अभूतपूर्व क्रियाकलापसँगै उर्जा उत्पादनको वर्तमान अवस्थालाई थप तिब्रता दिने, सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यमा टेवा पुऱ्याउने लगायतका उद्देश्यमा एक्स्पोले मद्दत गर्ने आयोजकको दावी छ ।

एक्स्पोमा १०० भन्दा बढी स्टल रहने छन् । जलविद्युत् प्रवर्द्धक, उत्पादक, इक्युप्मेन्ट सप्लायर्स, टर्वाइन उत्पादक, लगानीकर्ता, बैंक, बिमा लगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्स्पोमा रहने छन् । जसमा झण्डै ५० प्रतिशत विदेशी स्टल रहने आयोजकको भनाई छ ।

यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रोपावर रोबोथन (हाइड्रोकर्न २.०), ब्याटल रोबोट्स तथा हाइड्रो पावरको लाइभ प्रदर्शनी विशेष आकर्षण बन्नेछन् । साथै टनेल चेकिङ र इन्स्पेक्सन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरुको प्रतिस्पर्धा एक्स्पोमा समावेश गरिनेछ ।विद्युतीय सवारी साधनको र्‍याली एक्स्पोको थप विशेष आकर्षण बन्ने आयोजकले जनाएको छ । विद्युतीय सवारी साधनको बजारीकरण तथा सोको माध्यमबाट जलविद्युतको आन्तरिक बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने इप्पानका उपाध्यक्ष आशिष गर्गले बताए ।

एक्स्पो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्तालाई हेलिकप्टरमार्फत हाइड्रोपावर आयोजनाहरुको भ्रमण गराउने व्यवस्थाका साथै भर्चुअल रियालिटी टूरको व्यवस्था गरिएको अर्को आयोजक संस्था एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । विद्युतको सही व्यवस्थापन हुन नसकिरहेको सन्दर्भमा एक्स्पोले नयाँ प्रविधिका साथै सम्बद्ध पक्षको सहभागितामा नयाँ आयाम थप्न टेवा पुर्‍याउने उनको भनाइ छ । साथै एक्स्पोमा ड्रोन हाइड्रोपावर भिडियो मेकिङ कम्पिटिसन आकर्षणका रुपमा रहने छ । हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल राखिने र आधुनिक प्रविधिको सम्भावित प्रयोगका सम्बन्धमा एक्स्पोमा जानकारी दिइने छ ।

जलविद्युत् लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा टेवा पुर्‍याउने आयोजकको भनाइ छ । ५० हजारभन्दा बढीले एक्स्पो अवलोकन गर्ने अनुमान छ ।