काठमाडौँ चैत २३ गते । नेपालका मुख्य सहरदेखि नवनिर्मित राजमार्गहरूमा सडकको बीच भागमा बनाइएका ‘डिभाइडर’ (सडक विभाजक) हरू अचेल सुन्दरताका केन्द्र होइन, धुलो र हिलोको मुख्य स्रोत बन्न थालेका छन्। सडक सफा गर्ने नाममा जम्मा गरिएको माटोलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्नुको सट्टा डिभाइडरमै थुपार्ने गलत कार्यशैलीले देशभरका सडकहरू झनै प्रदूषित र जोखिमपूर्ण बन्दै गएका छन्।
यो समस्या काठमाडौँ उपत्यकामा मात्र सीमित नभई पोखरा, बुटवल, विराटनगर, चितवन लगायत देशका अधिकांश विकसित सहरहरूमा देखिएको छ। सडक विभाग र स्थानीय तहका कर्मचारी वा ब्रुमरले सडक बढारेपछि संकलन भएको धुलो र माटोलाई टाढा लैजान झन्झट मान्दै डिभाइडरकै बिरुवाको फेदमा ‘उकेरा’ लगाउने बहानामा थुपार्ने गरेका छन्। यसले गर्दा सडक केही समय सफा देखिए पनि हावा चल्ने बित्तिकै त्यो खुकुलो माटो उडेर फेरि सडकमै आइपुग्छ।
”जति कर्मचारी लगाएर सफा गरे पनि जस्ताको तस्तै हुन्छ,” एक सवारी चालक भन्छन्, “हावाहुरी चल्दा डिभाइडरको माटो उडेर आँखा तिर्मिराउँछ, अनि वर्षामा त्यही माटो बगेर सडक हिलाम्मे र चिप्लो बनाउँछ।”
वर्षौँदेखि सडकको धुलो त्यहीँ थुपार्दा धेरै ठाउँमा डिभाइडरको माटोको तह डिभाईडर भन्दा अग्लो भइसकेको छ।
वर्षायाममा डिभाइडरबाट बगेर आउने हिलोले विशेष गरी दुई पाङ्ग्रे सवारी साधन चिप्लिने ठुलो डर हुन्छ। घाम लाग्दा र हावा चल्दा त्यही माटो फेरि धुलो बनेर उड्छ, जसले पैदल यात्री र चालकको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ।
सरकारले सडक सफाइका लागि वर्षेनी करोडौँ बजेट र सयौँ कर्मचारी परिचालन गरे पनि गलत प्रविधिका कारण नतिजा ‘शून्य’ देखिएको छ।
पूर्वाधार विज्ञहरूका अनुसार डिभाइडरमा नाङ्गो माटो छोड्नु नै यो समस्याको जड हो। “बिरुवाको फेदमा माटो थुपार्ने पुरानो शैली त्यागेर त्यहाँ ससाना ढुङ्गा (Pebbles) वा जमिन ढाक्ने ससाना ‘ग्राउन्ड कभर’ बिरुवाहरू लगाउनुपर्छ,” एक इन्जिनियर भन्छन्, “सडकबाट उठाइएको धुलोलाई डिभाइडरमा हाल्न पूर्ण रूपमा निषेध गरी सिधै तोकिएको ‘डम्पिङ साइट’ सम्म पुर्याउने संयन्त्र बनाउन जरुरी छ।”
सडकको सौन्दर्य बढाउने र हरियाली जोगाउने नाममा अपनाइएको यो अदूरदर्शी कार्यशैलीले देशभरका सडकलाई उल्टै कुरुप र असुरक्षित बनाएको छ। सम्बन्धित निकायले ‘झारा टार्ने’ काम छोडेर आधुनिक र वैज्ञानिक समाधानतर्फ ध्यान नदिने हो भने सडक सफाइको नाममा हुने राज्यको ढुकुटी खर्च भइरहनेछ तर सडक कहिल्यै सफा हुने छैन सडक सफाइको नाममा हुने ठुलो खर्च बालुवामा पानी हाले सरह नै हुने देखिन्छ।
नयां सरकारकाे ध्यान जाओस ।

प्रतिक्रिया