खुलामञ्चको प्रसङ्ग जोडेर कांग्रेसमाथि व्यङ्ग्य प्रहार गरेका प्रधानमन्त्री बालेन शाहलाई नेपाली कांग्रेसका नेता सचिन तिमलसिनाले जवाफ फर्काएका छन्।
मुलुकमा कांग्रेसले लोकतन्त्र ल्याएकै कारण प्रधानमन्त्री पदमा रहेर पनि रातको समयमा तल्लो स्तरको टिप्पणी गर्ने छुट मिलेको भन्दै उनले सामाजिक सञ्जालमार्फत काउन्टर दिएका हुन्।
प्रधानमन्त्री शाहको स्टाटस लगत्तै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता तिमलसिनाले भनेका छन्, ‘धन्न कांग्रेसले यो देशमा लोकतन्त्र स्थापना गरेछ। प्रधानमन्त्री नै भएपनि ९ बजे पछि तल्लो स्तरको टिप्पणी गर्न पाएका छन्।’
यसअघि आइतबार खुलामञ्चमा जारी कांग्रेसको १५औं महाधिवेशनको मञ्चबाट सभापति गगन थापाले प्रधानमन्त्री संसद्मा उपस्थित नहुने गरेको भन्दै आलोचना गरेका थिए।
त्यसको प्रतिक्रियास्वरूप प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भन्दै कांग्रेसलाई व्यङ्ग्य गरेका थिए।
प्रधानमन्त्रीको सोही अभिव्यक्ति पदीय मर्यादाविपरीत र अमर्यादित रहेको आरोप लगाउँदै कांग्रेस नेता तिमलसिनाले लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको इतिहास सम्झाएर जवाफ फर्काएका हुन्।

प्रतिक्रिया