पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको प्राकृतिक बहाव क्षेत्र (खोलाघर) मा रहेका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ। यही असोज १५ गतेदेखि सुरु भएको अभियानअन्तर्गत हालसम्म १२ स्थायी र १४ वटा अस्थायी संरचना हटाइएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए।
गत जेठदेखि सुरु गरिएको खोलाघर खाली गर्ने अभियानअन्तर्गत सम्बन्धित घरधनीलाई आफ्ना संरचना आफैँ खाली तथा हटाउन अन्तिम अवसर दिइएको थियो। सो अवधिमा पनि खाली नभएका वा हटाउन नसकिएका संरचना महानगरपालिकाले अहिले क्रमशः हटाइरहेको हो।
फिर्के खोलाको खोलाघरभित्र निर्माण भएका संरचना सम्बन्धित व्यक्ति तथा संस्थाले आफैँ हटाउने भनी महानगरपालिकासमक्ष मौखिक सहमति जनाएका थिए तर सहमतिअनुसार संरचना नहटाएपछि महानगरपालिकाले हटाउने कार्य पुनःअघि बढाएको थियो।
प्रमुख आचार्यले फिर्केखोलाको प्राकृतिक बहाव क्षेत्र संरक्षण र व्यवस्थित सहरी विकासका लागि अभियानलाई निष्कर्षमा पुर्याइने बताए। ‘खोलाघर संरक्षण पोखराको दीर्घकालीन हितसँग जोडिएको विषय हो। अभियानलाई सफल बनाउन सबैपक्षको सहयोग आवश्यक छ,’ उनले भने।
महानगरका अनुसार खोलाघरभित्र रहेका बाँकी संरचना पनि क्रमशः हटाउँदै गाईघाटसम्म पुगेर अभियान सम्पन्न गरिनेछ। महानगरले अभियान सफल बनाउन नगरवासी, सरोकारवाला तथा सम्बन्धित पक्षलाई सहयोग, समन्वय र सहजीकरणका लागि आग्रह गरेको छ। खोलाको प्राकृतिक बहाव क्षेत्र संरक्षणसँगै बाढी तथा डुबानको जोखिम न्यूनीकरण र व्यवस्थित सहरी विकासमा अभियान महत्वपूर्ण हुने महानगरले जनाएको छ।
पोखरा महानगरपालिका-१८, २, ४, ५, ७, ८, ६ र १७ भएर बगेर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ आठ किलोमिटर रहेको छ। फिर्के कम्तीमा तीन मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको पोखरा महानगरले गरेको नापजाँच प्रतिवेदनमा उल्लेख छ।
फिर्केखोलाको प्राविधिक नाप जाँचपछि यकीन गरिएको खोला घरको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ वटा गरी ५८८ सीमास्तम्भ गाडिएका छन्। महानगरले फिर्के खोलाघरभित्रका संरचना हटाएपछि फिर्के करिडोर परियोजना अघि बढाउने योजना बनाएको छ। रासस

प्रतिक्रिया