पाठेघरको मुखको क्यान्सर रोकथामका लागि जुम्लामा सञ्चालित एचपिभी खोप अभियानमा १ हजार १ सय ७३ छात्राले खोप लगाएका छन्।
गत भदौ ५ र ६ गते जिल्लाका ८४ वटा खोप केन्द्रबाट कक्षा ६ मा अध्ययनरत छात्रालाई लक्षित गरी खोप दिइएको हो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माका अनुसार चन्दननाथ नगरपालिका र जिल्लाका सातवटै गाउँपालिकामा अभियान सञ्चालन गरिएको थियो।
चन्दननाथमा २ सय ५०, पातारासीमा १ सय ६७, तिलामा १ सय ४७, तातोपानीमा १ सय ४५, कनकासुन्दरीमा १ सय ३२, गुठीचौरमा १ सउ २१, सिंजामा १ सउ ११ र हिमामा १ सय छात्राले खोप लगाएका छन्।
अभियानका लागि चन्दननाथमा १७, पातारासीमा १२, तिलामा नौ र गुठीचौरमा छवटा खोप केन्द्र निर्धारण गरिएको थियो। तातोपानी, कनकासुन्दरी, सिंजा र हिमामा आठ–आठ केन्द्रबाट खोप दिइएको कार्यालयले जनाएको छ।
खोप अभियानका लागि १ हजार २ सय ९२ भाइयल एचपिभी खोप, १ हजार ४ सय १९ एडी सिरिन्ज, ७६ सेफ्टी बक्स, ७६ खोप रजिस्टर र १ हजार ४ सय १९ खोप कार्ड तयारी गरिएको थियो।
स्वास्थ्य कार्यालयका अनुसार एचपिभी खोप पाठेघरको मुखको क्यान्सर रोकथामका लागि किशोरीलाई दिइने महत्वपूर्ण खोप हो।

प्रतिक्रिया