पन्देहीको तिलोत्तमामा घरबाटै बेपत्ता भएकी १० वर्षीया बालिका ३७ घण्टापछि जंगलबाट उद्धार भएकी छन्। प्रहरीले बालिका अपहरणमा स्थानीय युवाको संलग्नता रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ।
तिलोत्तमा नगरपालिका–१० दरखसवाकी बालिका असोज १५ गते राति भाइसँग घरमा सुतिरहेकै अवस्थामा बेपत्ता भएकी थिइन्। राति करिब एक बजेतिर हजुरबुवा उठ्दा नातिनी ओछ्यानमा नभएको थाहा पाएपछि परिवार र स्थानीयले खोजी सुरु गरेका थिए।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मंगलापुरको टोली परिचालन भयो। त्यसपछि इलाका प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी तथा प्रदेश प्रहरी कार्यालयबाट समेत थप टोली परिचालन गरियो। प्रहरीले प्राविधिक अनुसन्धानसँगै स्थानीयस्तरमा सूचना संकलन गर्दै खोजीलाई अघि बढाएको थियो।
बालिका बेपत्ता भएको घटनामा प्रहरीले चिनेजानेकै व्यक्तिको संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा तिलोत्तमा–१० कै विशाल भनिने युवराज थारु प्रहरीको शंकाको घेरामा परे। उनी प्रायः जंगलमा बस्ने गरेको जानकारी पाएपछि प्रहरीले खोजीलाई जंगल क्षेत्रमा केन्द्रित गरेको थियो।
बालिका खोज्न करिब १५० प्रहरी परिचालन गरिएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी भूपेन्द्र खत्रीले बताएका छन्। असोज १६ गते दिउँसो तिलोत्तमा–१० कै चक्रहवा जंगलमा ५५ जना प्रहरीसहित स्थानीयको सहयोगमा व्यापक खोजी अभियान चलाइएको थियो।
सोही क्रममा अपहरणमा परेकी बालिका जंगलमा एक्लै फेला परेकी थिइन्। ३७ घण्टापछि दिउँसो करिब ३ बजेतिर उद्धार गरिएकी बालिका बोल्नसमेत नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। उपचारपछि राति इलाका प्रहरी कार्यालय बुटवलको सेफ हाउसमा राखिएको र अर्को दिन आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले अपहरणकारी थारुले ती बालिकालाई डर धम्की देखाएर जंगलमा राखेको र दुव्र्यवहारको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बालिकाको शरीरमा सामान्य खालको बाहिरी चोट देखिएपनि स्वास्थ्य परीक्षणको रिर्पोट आइनसकेको डिएसपी चन्दले बताए । ‘बालिकाको स्वास्थ्यअवस्थाबारे थपजानकारी रिर्पोट आएपछि मात्रै थाहा हुनेछ’ चन्दले भने ।
बालिका फेला परे पनि उनलाई अपहरण गर्ने व्यक्ति भने तत्काल पक्राउ परेका थिएनन्। प्रहरीले उनको खोजीलाई निरन्तरता दिएको थियो। खोजीका क्रममा असोज १८ गते बिहान तिलोत्तमा–१७ स्थित दरखसवाको धानबारीबाट विशाललाई प्रहरीले फेला पारेको थियो।
पक्राउ गर्न खोज्दा प्रतिरोध गरेपछि प्रहरीले उनको घुँडामुनि गोली हानेर नियन्त्रणमा लिएको जनाएको छ। घाइते उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले उनको साथबाट चक्कु र फलामको रडसमेत बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बालिकालाई जंगलमा ३७ घण्टासम्म एक्लै राखिएको देखिएको छ। पक्राउ परेका व्यक्ति प्रायः जंगलमै खाने–बस्ने गरेको स्थानीयबाट जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
घटनामा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया