लामो समयदेखिको आर्थिक सङ्कट र अभावबाट गुज्रिरहेको मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन हरित क्रान्ति नै प्रमुख विकल्प भएको उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले दाबी गरेका छन्।
उनले समृद्धिको यात्रा तय गर्न अब एक दिन र एक घण्टा पनि खेर नफाली काममा जुट्नुपर्ने बताएका छन्।
बनेपामा आयोजित पार्टीको जिल्ला समिति कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले नेपालको जलस्रोत, कृषि र प्राकृतिक स्रोतको उच्चतम उपयोगबाट मात्रै दिगो विकास सम्भव हुने बताए।
कृषिको आधुनिकीकरण र स्वच्छ ऊर्जा प्रवर्द्धनमार्फत स्वदेशमै रोजगारी सिर्जना गरेर मात्र तीव्र रूपमा भइरहेको युवा पलायन रोक्न सकिने उनको भनाइ थियो। उनले युवा पुस्तालाई स्वदेशमै उद्यमशीलतामा लाग्न प्रेरित गर्नुपर्नेमा विशेष जोड दिए।
अर्थतन्त्रलाई बलियो बनाउन संस्थागत सुदृढीकरण गर्दै देश निर्माणका निम्ति सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको अध्यक्ष घिसिङले औंल्याए।
कार्यक्रममा जिल्लागत वस्तुस्थितिबारे जानकारी दिँदै उनले काभ्रेका सबै गाउँपालिका तथा नगरपालिकामा पार्टीको सङ्गठन विस्तार भइसकेको घोषणा गरे।
उक्त कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया