पर्यटनको राजधानी पोखरामै रहेर पनि पुम्दीभुम्दी ओझेलमा छ । पोखरामा पर्यटकको सबैभन्दा धेरै चहलपहल हुने ठाउँ हो लेकसाईड, र त्यहि लेकसाईडको ठीक पारिपट्टि पुम्दीभुम्दी छ । तर लेकसाईडमा पर्यटक अटाईनअटाई हुँदा त्यसको ठीक पारिपट्टि रहेको पुम्दीभुम्दीमा पर्यटक कमैमात्र पुग्छन् । लेकसाईड र पुम्दीभुम्दीबीचको फरक भनेको फेवातालको वारी र पारी मात्रै हो । तालको पूर्वोत्तर क्षेत्र लेकसाईड हो भने दक्षिण पश्चिम क्षेत्र पुम्दीभुम्दी हो । तर यी दुई ठाउँमा पुग्ने पर्यटकको संख्या भने आकाश जमिनको फरक छ ।

उसो त पुम्दीभुम्दी हिमाल र तालको दृश्यावलोकनका लागि उत्कृष्ट गन्तव्य हो । त्यसमाथि शान्तिस्तुप (चाईनिज गुम्बा) र महादेवको विशाल मूर्तीले पर्यटकलाई थप आकर्षण गर्ने गरेको छ । तर त्यतिले मात्रै नपुग्ने भएपछि पोखरा पर्यटन प्रवद्र्धन केन्द्रको आयोजनामा त्यस क्षेत्रमा पर्वतीय दौड आयोजना हुँदै आएको छ ।

दोस्रो संस्करणसम्म सम्पन्न भइसकेको प्रतियोगिताको तेस्रो संस्करण यहि असोज २४ गते शनिबार आयोजना हुने प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए । प्रतियोगिताका लागि अनलाईन फारम भर्ने क्रम चलिरहेको उनले बताए । हालसम्म एक सयभन्दा बढीले नाम दर्ता गराईसकेका छन्,उनले भने,‘अन्यले पनि भर्ने क्रम जारी छ ।’ उनका अनुसार १८ जिल्लाका धावकहरुले प्रतिष्पर्धाका लागि नाम दर्ता गराएका छन् । असोज २१ गतेसम्म नाम दर्ता गराउने समय रहेको उनले बताए ।

खेल पर्यटन मार्फत् ग्रामीण पर्यटन र कृषि अर्थतन्त्रलाई जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले प्रष्ट्याए । पोखरा आसपासका सम्भावित ग्रामीण पर्यटकीय गन्तव्यको पहिचान गरी बजार क्षेत्रमा आउने पर्यटकलाई ग्रामीण क्षेत्रसँग जोड्न पर्वतीय दौड प्रभावकारी माध्यम बन्ने उनको भनाइ छ ।

पुम्दी–भुम्दी क्षेत्रको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसहित हुने प्रतियोगिता विश्वशान्ति स्तूपबाट सुरु भई पुम्दीकोटस्थित विशाल महादेवको मूर्तीलाई परिक्रमा गर्दै पोखरा–२२ को वडा कार्यालय हुँदै न्यालडाँडास्थित कालाबाङ घरेडी बुद्धपार्कमा पुगेर सम्पन्न हुनेछ । आठ किलोमिटर दूरीको दौडमा खुला, वडास्तरीय खुला, महिला, यू–१६, विदेशी र भेट्रान्स गरी ६ विधामा प्रतिस्पर्धा गराइने जनाइएको छ ।

प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । यस्तै प्रतियोगितामा दोस्रो, तेस्रो, चौथो र पाँचौ हुनेले क्रमशः ३० हजार, १५ हजार, सात हजार र तीनहजार रुपैयाँ प्राप्त गर्ने पत्रकारसम्मेलनमार्फत् जानकारी गराइयो । प्रतियोगितामा छैटौँदेखि दशौँ स्थानसम्म दूरी पूरा गर्ने धावकलाई जनही एकहजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

वडास्तरीय खुला, महिला र यू–१६ विधाका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १५ हजार, सात हजार र तीनहजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने सह–संयोजक असफल गौतमले जानकारी दिए ।

विदेशी धावकतर्फ विजेताले १५ हजार र उपविजेताले सात हजार रुपैयाँ पाउनेछन् भने भेट्रानतर्फ विजेतालाई १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए ।

पोखरा महानगरपालिका वडा नम्बर–२२ का अध्यक्ष हिमलाल बरालले पर्वतीय दौड पुम्दभुम्दीको पहिचान बनेको बताए । यसले त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याईरहेको उनको भनाई छ । प्रतियोगिता पोखरा–२२ को पुँजी भएको र यसको अपनत्व वडाले लिएको बताउँदै वडाध्यक्ष बरालले भने,‘पोखरा–२२ मा निर्माण भइरहेका पदमार्गले आगामी दिनमा पोखरा आउने पर्यटकको बसाइ अवधी लम्ब्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं ।’

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्वतीय दौडले पोखराको पर्यटनलाई नै माथि उकास्न सहयोग गरेको बताए । प्रतियोगिताको अपनत्व पर्यटनसँग सम्बद्ध सबै संघसंस्थाले लिएको बताउँदै आवश्यक्ता अनुसार प्रतियोगिताका लागि सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । अन्तर्राष्ट्रियस्तरमा नेपाललाई पदक दिलाएका धावकहरू प्रतियोगितामा सहभागी भएको अवस्थामा आवश्यक आतिथ्य सेवा उपलब्ध गराउने उनले घोषणा गरे ।