राष्ट्रवादी र सनातन हिन्दू राष्ट्रको एजेन्डा बोकेर अघि बढेको जय नेपाल पार्टीलाई सच्चा वैकल्पिक राजनीतिक शक्तिको रूपमा बुझ्न र सहयोग गर्न आम जनतालाई सभापति डा. धवलशम्सेर राणाले आग्रह गरेका छन् ।

‘पुराना दलहरूको विकल्प खोजिरहेका अवस्थामा निष्ठामा अड्ने, जे भन्छ त्यही गर्ने, एक इमान्दार राष्ट्रवादी शक्तिको रूपमा जय नेपाल पार्टीलाई आम नेपाली जनताले विश्वास गर्नेछन् र पूर्ण सहयोग गर्नेछन्,’ सभापति राणाले बीरेन्द्रनगरमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै आइतबार भने ।

देशमा एकता, स्थीरता र आर्थिक समुन्नति स्थापना गर्ने, सनातन अधिराज्य तथा संवैधानिक राजसंस्था पूनर्स्थापना गर्ने पार्टीको एजेन्डा र अभियानमा गोलबद्ध हुन आम नागरिक र राजीनितक कार्यकर्तालाई सो अवसरमा उनले अपिल गरे ।

जय नेपाल पार्टी देशव्यापी पार्टी संगठन निर्माणको अभियानमा जुटेको राणाले जानकारी दिए ।

पार्टी नेता मुकुन्दश्याम गिरीले आर्थिक विकाससँगै युवाहरुका लागि रोजगारी सिर्जना नगरेसम्म नागरिकको दैनिकीमा सुधार नआउने बताए ।

भेलाले सभापति आनन्द चपाइको नेतृत्वमा जय नेपाल पार्टी सुर्खेत जिल्लाको तदर्थ जिल्ला कार्यसमिति गठन गरेको छ । २७ सदस्य जिल्ला कार्यसमितिका उपसभापतिहरूमा अन्जु बस्याल र मान बहादुर खरेल, सहसचिवमा इन्द्रा बिसी चयन गरिएको छ ।

अमृत राना, कर्ण बहादुर थापा, भूपेन्द्र शाही, तिलक खरेल, पार्वती चन्द पाल, विष्णु कुमारी शाही, कविता रावत, धर्म ढकाल, झुपलाल गिरी, रजत सिंह रावत, ओम प्रकाश भण्डारी, वर्षा चौधरी, दर्शन शाही, होम प्रसाद कडेल, मान ब. राना, मान ब. बुढा, प्रतिमा शाह, जीवन चन्द, चक्रदेव पुरी, आशिष नाथ योगी, मिना गिरी, तिल बहादुर कार्की, विवेक गिरीलाई सदस्यको जिम्मेवारी प्रदान गरिएको छ । रिक्त सचिव र कोषाध्यक्ष पद आगामी जिल्ला कार्यसमिति बैठकबाट परिपूर्ति गरिने छ ।

जय नेपाल पार्टीका केन्द्रीय सम्मानित सल्लाहकार समिति सदस्य मान बहादुर खड्काको अध्यक्षतामा बसेको भेलाले बीरेन्द्रनगर नगर कार्यसमितिको संयोजक पदमा कुल बिक्रम शाह, नेपाल युवक संगठनका जिल्ला संयोजकमा विवेक गिरी र नेपाल महिला संगठनका जिल्ला संयोजकमा विष्णु कुमारी शाहीलाई जिम्मेवारी प्रदान गरेको छ ।

भेलाले जिल्लामा पार्टी संगठनलाई थप व्यवस्थित, सुदृढ तथा प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरेर संगठन बिस्तारमा अघि बढ्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य प्रेम बिसीले बताए ।