नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ सरकार बने पनि जनताको असन्तुष्टि र आक्रोश घट्न नसकेको बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै शर्माले २१ फागुनमा निर्वाचन भएर नयाँ उत्साहसहित सरकार बने पनि जनताको आवेगलाई विश्वासमा बदल्न नसकिएको बताए।

‘२१ फागुनमा निर्वाचन भएर नयाँ उत्साहसहितको सरकार बनेर पनि अझै आवेगलाई विश्वासमा लिन किन सकिरहेका छैनौँ ?’ उनले प्रश्न गरे, ‘अझै पनि सामाजिक सञ्जालमा हामी एकले अर्कोलाई प्रहार गर्ने कुरामा बढी आनन्दित छौँ । किन हरेक मान्छे रिसाएको छ, असन्तुष्ट छ र आक्रोशित छ ?’

शर्माले संविधान संशोधनको विषयलाई सत्तापक्ष र प्रतिपक्षबीचको शक्ति संघर्ष वा संसदीय गणितमा सीमित गर्न नहुने बताए।

संविधानको परिकल्पनाअनुसार १० वर्षको अभ्यासको मूल्यांकन गर्दै संशोधन प्रक्रिया अघि बढाइए कांग्रेसले सरकारलाई साथ दिने उनको भनाइ थियो।

उनले जेनजी युवाहरूले उठाएका माग सम्बोधन गर्दै उनीहरूको भावना राज्यले समेट्नुपर्ने बताए। मधेस आन्दोलन, २०६२।६३ को जनआन्दोलन र थरुहट आन्दोलनले उठाएका विषयलाई समेत सम्बोधन गर्नुपर्ने शर्माको भनाइ थियो। उनले नेपाल एउटा होइन नभई दुईवटा भएको दुवै नेपाललाई गाँसेर समुन्नत नेपाल बनाउन सरकार तयार हुनुपर्ने बताए।

शर्माले संसदीय व्यवस्थामा सबै राजनीतिक दल र शक्तिका लागि साझा बाटो भएको भन्दै संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको संविधान साझा दस्ताबेज र विश्वासको प्रतीक बन्दै गएको बताए।

उनले निर्वाचनबाट जनताको विश्वास जितेर रास्वपाको सरकार बनेको र कांग्रेस जनताको चाहनाअनुसार जिम्मेवार प्रतिपक्षको भूमिकामा रहेको बताए।