भारतको निर्वाचन आयोगविरुद्ध नयाँ दिल्लीमा जारी प्रदर्शनका क्रममा प्रहरी अधिकारीमाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
मतदाता नामावलीको व्यापक पुनरावलोकनका क्रममा लाखौँ मतदाताको नाम हटाइएको भन्दै अनियमितताको आरोप लगाउँदै प्रदर्शनकारीले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै शुक्रबारदेखि आन्दोलन गरिरहेका छन्। निर्वाचन आयोगले भने मतदाता सूचीमा अनियमितता भएको आरोप अस्वीकार गरेको छ। कुमारले यसबारे सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।
शनिबार नयाँ दिल्लीको जन्तर मन्तर क्षेत्रमा प्रहरीले दर्जनौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा तीन महिला पत्रकारले प्रहरी अधिकारीमाथि दुर्व्यवहारको आरोप लगाएका थिए। दिल्ली प्रहरीले तीन महिला पत्रकारबाट उजुरी प्राप्त भएको पुष्टि गर्दै निष्पक्ष अनुसन्धानका लागि उजुरी क्राइम ब्रान्चमा पठाइएको बताएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एक उजुरीकर्ताले आफूलाई एक प्रहरी अधिकारीले धकेल्नुका साथै अनुचित रूपमा छोएको आरोप लगाएकी छन्।
प्रदर्शनमा वामपन्थी समूह र ‘कक्रोच जनता पार्टी’ (सिजेपी) का समर्थक पनि सहभागी छन्। व्यङ्ग्यात्मक अनलाइन अभियानका रूपमा स्थापना भएको सिजेपीले यसअघि तत्कालीन शिक्षामन्त्रीलाई पदबाट हटाउने अभियान चलाएको थियो। सिजेपी प्रमुख अभिजित दिपकेले आरोपित प्रहरी अधिकारीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।
विपक्षी दलले निर्वाचन आयोग प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) को प्रभावमा काम गरिरहेको आरोप लगाएका छन्। उनीहरूले मंगलबार निर्वाचन आयोगको कार्यालयसम्म मार्च गर्ने र त्यसपछि देशभर ‘लोकतन्त्र बचाउ’ अभियान सञ्चालन गर्ने बताएका छन्। सिजेपीले आगामी १० अक्टोबरमा नयाँ दिल्लीमा युवाको ठुलो प्रदर्शन गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया