अजय देवगन अभिनीत बलिउड सस्पेन्स–थ्रिलर फिल्म ‘दृश्यम ३ : द कन्क्लुजन’ ले बक्स अफिसमा दमदार प्रदर्शन गरिरहेको छ। प्रदर्शनको दोस्रो दिनसम्म फिल्मले भारतीय बजारमा ११५ करोड ५० लाख भारुको नेट कलेक्सन गर्दै १०० करोड क्लबमा प्रवेश गरेको छ।
बक्स अफिस रिपोर्टका अनुसार, २ अक्टोबर २०२६ मा रिलिज भएको ‘दृश्यम ३ : द कन्क्लुजन’ ले पहिलो दिन करिब ६६ करोड भारु कमाएको थियो । दोस्रो दिन थप ५३ करोड भारु कमाएसँगै दुई दिनको घरेलु नेट कलेक्सन ११५ करोड ५० लाख भारु पुगेको हो। भारतमा फिल्मको दुई दिनको ग्रस कलेक्सन १३८ करोड ६५ लाख भारु पुगेको बताइएको छ।
विदेशी बजारमा दोस्रो दिन फिल्मले करिब २० करोड भारु कमाएको छ। यससँगै दुई दिनमा विदेशी बजारको कुल कलेक्सन ३८ करोड ५० लाख भारु पुगेको छ। विश्वव्यापी रूपमा फिल्मले दुई दिनमै १७७ करोड भारुभन्दा बढी ग्रस कलेक्सन गरेको जनाइएको छ।
२ अक्टोबरमा रिलिज भएको फिल्मले पहिलो दिन नै ‘दृश्यम’ फ्रेन्चाइजका अघिल्ला दुई फिल्मको ओपनिङ रेकर्ड तोडेको थियो। ‘दृश्यम २’ ले पहिलो दिन भारतमा १५ करोड ३८ लाख भारु नेट र ‘दृश्यम’ले ५ करोड ८५ लाख भारु नेट कमाएका थिए।
‘दृश्यम ३’ अजय देवगनको करियरकै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्मसमेत बनेको छ। यसअघि ‘सिंघम अगेन’, ‘सिंघम रिटर्न्स’ र ‘गोलमाल अगेन’ लगायतका उनका फिल्मले गरेको पहिलो दिनको कमाइलाई समेत यसले उछिनेको बताइएको छ।
फिल्मले रिलिजअघि नै बलियो अग्रिम बुकिङ गरेको थियो। ब्लक सिटसहित आठ दिनका शोका लागि करिब ७९ करोड ७१ लाख भारु बराबरको अग्रिम टिकट बिक्री भएको र ब्लक सिटबाहेक अग्रिम बुकिङ ६७ करोड ७९ लाख भारु रहेको जनाइएको छ।
‘दृश्यम ३’ मा अजय देवगनले विजय सालगाउँकरको भूमिका दोहोर्याएका छन्। तब्बू, श्रिया सरन, जयदीप अहलावत, प्रकाश राज, रजत कपुर, इशिता दत्ता, मृणाल जाधव र कमलेश सावन्तलगायत कलाकारको अभिनय रहेको फिल्मको निर्देशन अभिषेक पाठकले गरेका हुन्।
फिल्मको कथा विजय सालगाउँकर र उनको परिवारले विगतमा कानुनी संकटबाट उम्किएपछिको घटनाक्रममा आधारित छ।

प्रतिक्रिया