“पहिले जङ्गलमा गएर काम गर्नुपर्थ्याे अनि मात्र खान पाइन्थ्यो, अहिले सरकारले सामाजिक सुरक्षा भत्ता दिन्छ। त्यसले खानलाउन र जीविकोपार्जन गर्न सहज भएको छ”, ७० वर्षीया झिना राजीले आफ्नो विगत सम्झँदै भनिन्।
जीवनको लामो समय जङ्गलसँग जोडिएर बिताएका झिना अहिले आफ्नो समुदायमा आएको परिवर्तन आफ्नै आँखाले देखिरहेकी छन्। कुनै समय परिवारको गुजारा चलाउन जङ्गली पस्नुपर्ने अवस्था थियो। अहिले भने राज्यबाट सामाजिक सुरक्षा भत्ता, आवास, शिक्षा र स्वास्थ्य लगायत सेवासुविधा पाउन थालेपछि जीवनयापन सहज भएको उनी बताउँछिन्।
झिना राजीको पुस्ताले जङ्गलीसँग जोडिएको जीवन बाँच्यो भने नयाँ पुस्ता त्यही समुदायबाट विद्यालय, प्राविधिक शिक्षा, रोजगारी र सामाजिक नेतृत्वको बाटोमा अघि बढिरहेको छ। एक पुस्ताले जङ्गलबाट प्राप्त स्रोतमा निर्भर भएर परिवारको जीवन धानेको थियो भने अर्को पुस्ताले शिक्षा हासिल गरेर सरकारी सेवामा प्रवेश गर्ने अवस्था बनेको छ। कैलालीको भजनी, टीकापुर, गौरीगङ्गा, घोडाघोडी लगायतका क्षेत्रमा राजी समुदायको बसोबास छ। समुदायमा देखिएको यो परिवर्तन जीविकोपार्जनको शैलीमा आएको परिवर्तनमा मात्र सीमित छैन। शिक्षा, रोजगारी, सामाजिक सुरक्षा, महिला सहभागिता, स्थानीय तहमा प्रतिनिधित्व र आफ्ना अधिकारबारेको चेतनासमेत विस्तार हुँदै गएको छ।
नेपाल सरकारले आदिवासी जनजातिअन्तर्गत १० जातिलाई लोपोन्मुख जातिका रूपमा सूचीकृत गरेको छ। तीमध्ये राजी जाति पनि एक हो। नेपालको संविधानले सामाजिक न्याय, समानता र समावेशितालाई मौलिक अधिकारका रूपमा स्थापित गर्दै सामाजिक तथा सांस्कृतिक रूपमा पछाडि परेका, अल्पसङ्ख्यक तथा लोपोन्मुख समुदायको संरक्षण, सशक्तीकरण र विकासका लागि विशेष व्यवस्था गर्न सकिने उल्लेख गरेको छ।
संविधानको धारा ४२ मा लोपोन्मुख जातिका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र खाद्यान्नमा विशेष अवसर तथा संरक्षणको हक सुनिश्चित गरिएको छ।
त्यस्तै धारा ५१ ले लोपोन्मुख समुदायको पहिचान, भाषा, लिपि, संस्कृति र इतिहासको संरक्षण तथा विकासका लागि विशेष अवसर र व्यवस्था गर्ने राज्यको नीति अघि सारेको छ। धारा २६१ ले आदिवासी जनजातिको हकहितको संरक्षण, सम्वर्द्धन र सशक्तीकरणका लागि आदिवासी जनजाति आयोगको व्यवस्था गरेको छ।
संवैधानिक व्यवस्थासँगै सरकारले राजी समुदाय लक्षित गरी सामाजिक सुरक्षा, छात्रवृत्ति, शिक्षा, आवास लगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्थानीय तहले पनि समुदायको अवस्थाअनुसार कार्यक्रम अघि बढाएका छन्।
भजनी नगरपालिकाले राजी जातिका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको नगरप्रमुख केबल चौधरी बताउँछन्। उनका अनुसार नगरपालिकाले निःशुल्क शिक्षासँगै राजी समुदायलाई लक्षित अन्य कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।
जङ्गलसँग जोडिएको जीवनबाट शिक्षातर्फ अघि बढेको पुस्ता राजी समुदायको परम्परागत जीविका जङ्गली, खेतीपाती र माछा मार्ने कामसँग गहिरोसँग जोडिएको थियो। जङ्गलबाट मह, जडीबुटी, कन्दमूल, कुरिलो, माछा लगायत वस्तु सङ्कलन गर्ने, घरमा प्रयोग गर्ने र बाँकी बिक्री गरेर घरखर्च चलाउने गरिन्थ्यो। वनजन्य वस्तु सङ्कलन गर्न कतिपय अवस्थामा दिनसँगै रातभर जङ्गलीमै बस्नुपर्ने अवस्था थियो।
भजनी नगरपालिका–९ भुरुवाका ३५ वर्षीय हर्षबहादुर राजीका लागि त्यो समय अझै सम्झनामा ताजा छ। उनका अनुसार पहिले परिवारका सबै सदस्य कुनै न कुनै रूपमा जङ्गलीसँग जोडिएका हुन्थे। “पहिले हाम्रो मुख्य जीविकोपार्जन खेतीपाती र जङ्गलीमै निर्भर थियो। म सानै थिएँ, बुवासँगै जङ्गली जाने गर्थें। जङ्गलीबाट मह, जडीबुटी तथा अन्य वनजन्य वस्तु ल्याएर खाने र बाँकी ठेकेदारलाई बिक्री गरेर घरखर्च चलाउने गर्थ्याै ”, उनले भने।
आम्दानी सीमित भएकाले परिवारको दैनिक आवश्यकता पूरा गर्न समेत कठिन हुने गरेको उनी बताउँछन्। त्यतिबेला शिक्षा धेरै परिवारको प्राथमिकतामा पर्न सकेको थिएन। आर्थिक अभावका कारण बालबालिकाले विद्यालय जानुभन्दा घरको काममा सहयोग गर्नुपर्ने अवस्था थियो।
हर्षबहादुरले पनि पढाइलाई निरन्तरता दिन सकेनन्। बुवाको निधन भएपछि र जेठो दाइ छुट्टिएर गएपछि परिवारको जिम्मेवारी उहाँकै काँधमा आयो। आफूले पढ्न नपाएका अवस्थालाई भने उनले भाइको जीवनमा दोहोरिन दिएनन्। भाइहरूलाई पढाउनुपर्छ भन्ने सोचका साथ उनले आफ्नोतर्फबाट सकेको सहयोग गरे।
हर्षबहादुरका एक भाइ ३१ वर्षीय अरमान अहिले घोडाघोडी नगरपालिकामा सबइन्जिनियरका रूपमा कार्यरत छन्। अरमानको बाल्यकाल भने पढाइप्रति विशेष रुचि भएका अवस्थाबाट सुरु भएको थिएन। विद्यालय जाने उमेरमा उनलाई पढ्नुभन्दा गाईबाख्रा चराउन बढी रुचि लाग्थ्यो। “स्कुल पढ्दा हप्तामा एक दिन मात्र विद्यालय जाने गर्थें। विद्यालय जानुपर्छ भन्ने सोच नै थिएन, गाईबाख्रा चराउन नै राम्रो लाग्थ्यो”, उनले भने।
पढाइप्रतिको त्यही सुरुआती उदासीनताका कारण उनको शैक्षिक यात्रा पनि सहज भएन। एसएलसीमा एकपटक असफल भए तर असफलतापछि पनि उनले पढाइ छाड्नुभएन। परिवारको साथ र आफ्नै प्रयासले माध्यमिक तहको शिक्षा पूरा गरे।
माध्यमिक शिक्षा पूरा गरेपछि उनको ध्यान प्राविधिक शिक्षातर्फ मोडियो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को प्रवेश परीक्षा उत्तीर्ण गरेपछि छात्रवृत्तिको अवसर पाउनुभयो। त्यसपछि चितवनमा डिप्लोमा तहको सब–इन्जिनियरिङ अध्ययन गरे। “प्राविधिक शिक्षा के हो, डिप्लोमा तहको पढाइ कसरी गर्ने भन्ने सुरुमा मलाई पनि धेरै जानकारी थिएन। पछि भर्ना भएपछि बाटो खुल्दै गयो”, उनले भने।
प्राविधिक शिक्षा पूरा गरेपछि अरमानले लोकसेवा आयोगको परीक्षा दिए। परीक्षा उत्तीर्ण गरेपछि २०७६ सालदेखि उनी घोडाघोडी नगरपालिकामा सब–इन्जिनियरका रूपमा कार्यरत छन्।
जङ्गलीमा परिवारको गुजारा चलाउने पुस्ताकै परिवारबाट शिक्षा हासिल गरी सरकारी सेवामा प्रवेश गरेकाे उनको यात्रा राजी समुदायमा आएको पुस्तान्तरणको एउटा उदाहरण बनेको छ। दाइ हर्षबहादुरको बाल्यकाल जङ्गलमा बित्यो। उनले पढाइलाई निरन्तरता दिन सकेनन् तर भाइ अरमानले कठिनाइका बाबजुद पढाइ अघि बढाउँदै प्राविधिक शिक्षा हासिल गरे र सरकारी सेवामा प्रवेश गरे। हर्षबहादुरका अर्का भाइले पनि इलेक्ट्रिकल इन्जिनियरिङ पूरा गरी लोक सेवाको तयारी गर्दै छन्।
आफ्नो सफलतालाई अरमान व्यक्तिगत उपलब्धिका रूपमा मात्र हेर्नु हुन्न। उनका अनुसार पछिल्लो समय राजी समुदायका बालबालिका तथा युवामा शिक्षाप्रतिको रुचि बढ्दै गएको छ। विद्यालय, छात्रवृत्ति र प्राविधिक शिक्षाका अवसरबारे जानकारी बढ्दै जाँदा नयाँ पुस्ताले आफ्नो भविष्यका लागि विभिन्न बाटो रोज्न थालेको उनको अनुभव छ। “पहिलेभन्दा अहिले धेरै परिवर्तन आएको छ। नयाँ पुस्ताले धेरै कुरा सिक्ने र अगाडि बढ्ने अवसर पाएको छ। अब त्यसलाई उपयोग गरेर अझ अघि बढ्नुपर्छ”, उनले भने।
यसरी हर्षबहादुर र अरमानको एउटै परिवारको कथाले राजी समुदायमा आएको पुस्तागत परिवर्तनलाई देखाउँछ। जङ्गलीमा निर्भर भएर परिवारको जीवन धान्नुपर्ने पुस्ताबाट शिक्षा र सीप हासिल गरी रोजगारीको बाटो रोज्ने पुस्तासम्म आइपुग्दा समुदायको जीवनशैलीसँगै भविष्यप्रतिको सोचसमेत परिवर्तन हुँदै गएको छ।
सामाजिक सुरक्षा र शिक्षाले बदलिँदै परिवारको सोच
शिक्षातर्फको परिवर्तनसँगै सामाजिक सुरक्षा र आवासका कार्यक्रमले विपन्न राजी परिवारको दैनिकीमा सहजता थपेको छ। सरकारले राजी समुदायका लागि प्रतिव्यक्ति चार हजार रुपैयाँ का दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ। हर्षबहादुरका अनुसार परिवारको सीमित आम्दानीका बीच सामाजिक सुरक्षा भत्ता भाइहरूको पढाइ अघि बढाउने महत्त्वपूर्ण आधार बनेको थियो।
उनका अनुसार सुरुमा यही भत्ताको सहाराले दुई भाइको पढाइ अघि बढाउन सहयोग पुगेको थियो। एक भाइले प्राविधिक शिक्षा हासिल गरी इन्जिनियर बनेपछि परिवारलाई अर्को भाइको पढाइका लागि खर्च व्यवस्थापन गर्न थप सहज भयो। “सामाजिक सुरक्षा भत्ता नभएको भए भाइहरूलाई पढाउन गाह्रो हुन्थ्यो। सुरुमा त्यही भत्ताले दुई भाइलाई पढाउन सहयोग गर्यो। एक भाइ इन्जिनियर भएपछि अर्को भाइलाई पढाउन पनि सहज भयो”, उनले भने।
सरकारले सामाजिक सुरक्षा भत्तासँगै राजी समुदायका लागि एकीकृत नमूना बस्तीसमेत निर्माण गरिदिएको छ। मैतु राजीको परिवारका छ सदस्यले सामाजिक सुरक्षा भत्तासँगै आवासको सुविधा पाएका छन्। सरकारले घर निर्माणमा सहयोग गरेपछि आवासको समस्या समाधान भएको उनी बताउँछन्। “पहिले हामीलाई धेरै समस्या थियो। सरकारले सामाजिक सुरक्षा भत्ता दिनुका साथै घर पनि बनाइदिएको छ। यसले धेरै सहज भएको छ”, उनले भने। सामाजिक सुरक्षा भत्ताले बालबालिकाको पढाइमासमेत सहयोग पुगेको उनको भनाइ छ।
आर्थिक अभावका कारण पहिले शिक्षा प्राथमिकतामा पर्न नसके पनि अहिले राज्यबाट प्राप्त सहयोग र परिवारको सोचमा आएको परिवर्तनसँगै बालबालिकालाई विद्यालय पठाउनेक्रम बढेको छ। यसले राजी परिवारमा शिक्षा केबल तत्कालीन आवश्यकता नभई भविष्य निर्माणको आधार हो भन्ने बुझाइ विकास हुँदै गएको देखाउँछ।
तुलसी राजीका अनुसार विगतमा गरिबीका कारण बालबालिकालाई विद्यालय पठाउन कठिन थियो। परिवारको दैनिक गुजारा चलाउनकै लागि बालबालिकाले सानै उमेरमा काम गर्नुपर्ने अवस्था थियो भने छोरीहरूको कम उमेरमै विवाहसमेत हुने गरेको थियो। अहिले भने राज्यबाट प्राप्त सुविधा र शिक्षाको महत्त्वबारे बढेको चेतनाले परिवारको प्राथमिकता परिवर्तन भएको छ। “पहिलेभन्दा अहिले धेरै सुविधा आएको छ। अहिले हामीले पनि आफ्ना हकअधिकार पाउनुपर्छ भन्ने कुरा बुझ्न थालेका छौं”, उनले भने।
पुरानो पुस्ताको अनुभवले पनि शिक्षाप्रतिको बदलिँदो सोचलाई देखाउँछ। पार्वती राजीले पारिवारिक परिस्थितिका कारण विद्यालयको शिक्षा निरन्तरता दिन सकिनन्। आमाको स्वास्थ्य अवस्था र पारिवारिक परिस्थितिका कारण १५ वर्षकै उमेरमा उनको विवाह भयो। कक्षा ५ सम्म मात्र पढ्न पाएकी उनी अहिले आफ्ना सन्तानको शिक्षाप्रति सचेत छिन्। “मैले पढ्न पाइनँ तर मेरा बच्चाले पढ्नुपर्छ भन्ने लाग्छ”, उनले भनिन्।
मैतु राजीको अनुभव पनि उस्तै छ। आफूले विद्यालय जाने अवसर नपाए पनि अहिले उनका छोराछोरी विद्यालय जान्छन्। आफूले भोगेको अभाव र शिक्षाबाट वञ्चित हुनुपरेको अवस्थाले नै सन्तानको शिक्षाप्रति उनलाई थप सचेत बनाएको छ।
राजी समुदायमा शिक्षा र जीवनस्तरप्रतिको सोचमा पुस्तान्तरण हुँदै गएको देखिन्छ। पहिले परिवारको दैनिक गुजारा चलाउनु नै मुख्य प्राथमिकता थियो भने अहिले छोराछोरीलाई विद्यालय पठाउनु, उनीहरूको शिक्षा पूरा गराउनु र सीप तथा रोजगारीका अवसर खोज्नु भविष्य निर्माणको आधारका रूपमा लिन थालिएको छ। सामाजिक सुरक्षा, आवास तथा शिक्षामा राज्यको सहयोगसँगै परिवारको सोचमा आएको यो परिवर्तनले राजी समुदायलाई परम्परागत जीवनशैलीबाट नयाँ अवसरतर्फ अघि बढाइरहेको छ।
महिलाको सहभागितादेखि समुदायको नेतृत्वसम्म
राजी समुदायमा आएको परिवर्तन शिक्षा र रोजगारीमा मात्र सीमित छैन। महिला पनि विस्तारै सामाजिक सेवा, आयआर्जन र समुदायका गतिविधिमा सहभागी हुन थालेका छन्। तुलसी राजी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका रूपमा समुदायमा काम गर्दै आएकी छन्। स्वास्थ्यसम्बन्धी सेवा र सचेतनाको कामसँगै समुदायमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा अधिकारका विषयमा चेतना बढ्दै गएको उनले अनुभव गरेका छन्।
महिला सामाजिक गतिविधिमा सहभागी हुनका साथै आफ्नै आम्दानीको बाटो पनि खोज्न थालेका छन्। भजनीकी पार्वती राजीका श्रीमान् मिल चलाउँछन् भने पार्वती अटो चलाएर आफ्नै आम्दानीको बाटो खोज्दै छिन्। यसले राजी महिलामा आत्मनिर्भर बन्ने चाहना बढ्दै गएको देखाउँछ। समुदायको सामाजिक नेतृत्वमा पनि राजीहरूको सहभागिता बढ्दै गएको छ। हर्षबहादुर अहिले भजनी नगरपालिका–९ स्थित सोनपाल सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षसँगै नेकपा एमालेको वडा कमिटी हुन्।
स्थानीय तहको कार्यपालिका तहमासमेत राजी समुदायको प्रतिनिधित्व हुँदै आएको छ। यसले समुदायका सदस्यलाई स्थानीय सरकारका योजना तथा निर्णय प्रक्रियामा आफ्ना आवश्यकता राख्ने अवसर दिएको छ।
हर्षबहादुरका अनुसार केही वर्षअघिसम्म आफ्नो समस्या राख्नसमेत हिच्किचाउने समुदाय अहिले अधिकारका विषयमा बोल्न थालेको छ। “पहिले आफ्नो समस्या राख्न पनि डराउने अवस्था थियो। अहिले हामी आफैँ नेतृत्वमा बसेर समुदायका समस्या र अधिकारका विषयमा बोल्न थालेका छौँ”, उनले भने।
आज राजी समुदायमा परिवर्तनको अर्थ जङ्गलीमा निर्भर जीवनबाट बाहिर आउनुमा मात्र सीमित छैन। आफ्ना सन्तान विद्यालय पठाउन सक्ने अवस्था, रोजगारीको बाटो रोज्ने आत्मविश्वास, राज्यबाट प्राप्त अधिकारबारे जानकारी राख्ने चेतना र स्थानीय तहमा आफ्नै प्रतिनिधि देख्न सक्ने अवस्थासमेत परिवर्तनका सङ्केत बनेका छन्।
एक पुस्ताले जङ्गलबाट परिवारको जीवन धान्यो। अर्को पुस्ताले शिक्षा लिएर सरकारी सेवाको बाटो समात्यो। राजी समुदायमा आएको यो परिवर्तन पुस्तौँदेखि भोगिएको अभाव, पछिल्ला वर्षमा विस्तार भएको राज्यको पहुँच र नयाँ पुस्ताको बदलिँदो सोचले निर्माण गरेको यो क्रमिक यात्रा हो। जङ्गलसँग जोडिएको जीवनबाट शिक्षाको उज्यालोसम्म आइपुगेको राजी समुदाय अब प्राप्त अवसरलाई रोजगारी, आत्मनिर्भरता, नेतृत्व र पहिचान संरक्षणसँग जोड्दै अघि बढ्ने चरणमा पुगेको देखिन्छ।
– इन्द्राकुमारी केसी/रासस

प्रतिक्रिया