कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा आजदेखि पुरुष डबल्स जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ।
यहाँस्थित निङ्गलाशैनी विकास समाजको आयोजनामा दुईदिने जिल्ला स्तरीय प्रतियोगिताको एक समारोहबीच निङ्गलाशैनी समाजका संस्थापक अध्यक्ष महेश चन्दले उद्घाटन गरे। नजिकिँदै गरेको विजया दशमी, तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरिएको उक्त प्रतियोगितामा उपाधि विजेता टोलीले रु २५ हजार, उपविजेताले रु १२ हजार र तेस्रो स्थान हासिल गर्ने टोलीले रु ६ हजार पुरस्कार पाउने प्रतियोगिता संयोजक दिलबहादुर धामीले जानकारी दिए।
प्रतियोगिताअन्तर्गत पुरुष, ४५ वर्षमाथिको भेट्रान र ५० वर्षमाथिको सुपर भेट्रान विधा समावेश गरिएको छ। सबै विधाका खेलाडीहरुलाई नगदसहित पुरस्कृत गरिने संयोजक धामीले जानकारी दिए। प्रतियोगितामा जिल्लाभरका ५५ टोली सहभागी छन्।

प्रतिक्रिया