नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर नभएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर बोल्दै उनले गत अधिवेशन अन्त्य भएपछि सरकारले अध्यादेश ल्याएको, चालु अधिवेशनमा सभामुखको निर्देशन पालना नभएको र प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको आरोप लगाए।

उपनेता हमालले सरकारले गरेका घोषणा, प्रतिबद्धता, कार्यक्रम र बजेटमाथि समीक्षा हुनुपर्ने र लोकतान्त्रिक विधि प्रक्रियालाई पालना गर्नुपर्नेमा जोड दिए।

सेवा प्रवाहमा प्रतिबद्धताअनुसार सरकारले काम गर्न नसकेको आरोप लगाउँदै उनले सुशासनसहित जनजीविकाका क्षेत्रमा पनि अपेक्षा गरेअनुसार काम नभएको बताए।