मनकामना पहुँच मार्गको दोस्रो घुम्तीमुनि पहिरो खसेर सडक प्रभावित भए पनि मनकामना मन्दिर दर्शन तथा केबुलकार सेवा नियमित र सुरक्षित रूपमा सञ्चालन भइरहेको छ।

मनकामना दर्शन (प्रा.) लि.ले प्रेस विज्ञप्ति जारी गर्दै केबुलकार सेवामा कुनै अवरोध नरहेको बताएको हो। पहिरोका कारण सवारीसाधनलाई साविकको पार्किङ स्थलसम्म पुग्न भने रोक लगाइएको छ।

कम्पनीले पूर्वतर्फबाट आउने यात्रुहरूका लागि राजमार्गको देब्रेतर्फ मुग्लिनतर्फ करिब ७० मिटर अगाडि वैकल्पिक पार्किङको व्यवस्था मिलाएको छ। वैकल्पिक स्थानमा गाडी राखेर यात्रुहरू त्यहाँबाट पैदलमार्ग हुँदै केबुलकार स्टेसनतर्फ जान सक्नेछन्।

मौसम अनुकूल हुनासाथ सडक मर्मतको कामलाई तीव्रता दिइने कम्पनीले जनाएको छ।

पहुँच मार्गमा केही समस्या देखिए पनि भक्तजनहरूले मनकामना पुगेर सहज रूपमा दर्शन गर्न सक्ने र केबुलकार सेवा पूर्ण सुरक्षित रहेको व्यवस्थापनले जनाएको छ।

असहज परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले यात्रु तथा भक्तजनलाई आवश्यक सहयोग र समझदारीका लागि अनुरोधसमेत गरेको छ।