पछिल्लो तीन दिनदेखिको अविरल वर्षाका बीच कञ्चनपुरमा पानीले भरिएको नालामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ।

जिल्लाको बेलौरी नगरपालिका-६ का ३९ वर्षीय महेश केसीको नालामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।

केसी शनिबार साँझदेखि सम्पर्कविहीन भएका थिए। उनको खोजी गर्ने क्रममा आइतबार नालामा मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए।

‘शनिबार साँझदेखि उहाँ सम्पर्कविहीन हुनुहुन्थ्यो, आज आइतबार नालामा मृत अवस्थामा फेला पारिएको हो,’ प्रहरी उपरीक्षक गिरीले भने, ‘वर्षाका कारण उर्लिएको नालामा बगेर उनको मृत्यु भएको पाइएको छ।’

सुदूरपश्चिमका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा भारी वर्षा रेकर्ड गरिएको छ। जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका प्रमुख इन्जिनियर सञ्जयकुमार शाहका अनुसार शनिबार मात्रै कैलाली, कञ्चनपुर र अछाममा १५० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको थियो।

वर्षाका कारण सडक तथा बस्तीका नालाहरूमा पानीको बहाव अत्यधिक बढेको छ।