पूर्वाधार विकास मन्त्री सुनील लम्सालले हालैको अविरल वर्षा, बाढी र पहिरोबाट क्षतिग्रस्त बनेका सडक, पुल तथा खानेपानी प्रणालीको पुनर्निर्माण कार्य यसै महिनाभित्र सुरु गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
देशभर बाढी-पहिरोले भौतिक पूर्वाधार र जनजीवनमा गम्भीर असर पारेपछि मन्त्री लम्सालले आइतबार प्रभावित क्षेत्रका जनप्रतिनिधिहरू र प्रधानमन्त्रीका सल्लाहकार सुदीप ढकालसँग नागरिकको पुनःस्थापना तथा पुनर्निर्माणबारे मन्त्रालयमा विस्तृत छलफल गरेका हुन्।
छलफलका क्रममा मन्त्री लम्सालले पछिल्लो तीन दिनको विपद्बाट भएको क्षतिको तत्काल मूल्याङ्कन गरी बजेट व्यवस्थापन गरिने बताए। उनले छिटो माध्यमबाट टेन्डर प्रक्रिया अघि बढाएर असोजभित्रै पुनर्निर्माण थालिने बताउँदै बाढी प्रभावित परिवारका लागि स्थानीय तहमार्फत तत्काल अस्थायी आवासको प्रबन्ध मिलाइने बताए।
मन्त्रालयका अनुसार कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको पोखरेबगर, बागलुङको मालढुङ्गा तथा तनहुँ-नवलपरासीको देदगाउँस्थित पुलका पहुँच (एप्रोच) सडक बगेका छन् भने कालीगण्डकीको पक्की पुल नै बगाएको छ।
यसैगरी काठमाडौं उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमार्गसहित विभिन्न जिल्लाका दर्जनभन्दा बढी सडकमा ठूलो क्षति पुगेको छ।
उता, डुम्रे-बेँसीसहर-चामे सडकखण्डअन्तर्गत लमजुङको रामबजार-स्याङ्गेमा मर्स्याङ्दी नदीको कटानले करिब ४० मिटर सडक पूर्ण रूपमा भासिएको छ।
मनाङको नासोंस्थित खोत्रोमा पहिरोले सडक अवरुद्ध छ भने नासोंकै बगरछापमा कटानका कारण करिब ५० मिटर सडक भासिएको छ। चामेमा बाढीले तीनवटा अस्थायी काठे पुलसमेत बगाएको छ।
बाढी र पहिरोले देशका प्रमुख झोलुङ्गे पुलहरूमा पनि व्यापक क्षति पुर्याएको छ। रुकुम पूर्वको नाथीगाड र बागलुङ-पर्वत जलजला फोर्से जोड्ने झोलुङ्गे पुल पूर्ण रूपमा नष्ट भएका छन्।
त्यसैगरी तनहुँको घिरिङ-नवलपुरको बुलिङटार, स्याङ्जाको गल्याङ-पाल्पाको रम्भा, पाल्पाको कासिबन-तनहुँको अत्रौली, पर्वत-स्याङ्जा जोड्ने सेतीबेणी तथा म्याग्दीको बेनी-पर्वतको जलजला जोड्ने झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ।
मन्त्रालयको प्रारम्भिक विवरणअनुसार बाढी र पहिरोका कारण देशभर ३१ वटा खानेपानी आयोजनामा समेत क्षति पुगेको छ। ती सबै संरचनाको तत्काल मर्मत तथा पुनर्निर्माण अघि बढाउने सरकारको तयारी छ।

प्रतिक्रिया