हालैको अविरल वर्षा, बाढी, पहिरो तथा हावाहुरीमा परी घाइते भएका नागरिकहरूको सम्पूर्ण उपचार खर्च सरकारले निःशुल्क बेहोर्ने भएको छ।
प्रधानमन्त्री बालेन शाहले आइतबार साँझ सामाजिक सञ्जालमार्फत देशवासीलाई सम्बोधन गर्दै घाइतेहरूको उपचारको उचित प्रबन्ध मिलाइएको र सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका हुन्।
प्रधानमन्त्री शाहका अनुसार असोज ८ गतेयता देशका विभिन्न भागमा आएको बाढी-पहिरोमा परेर ५ जना नागरिक घाइते भएका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिने बताए।
विपद्का कारण देशका विभिन्न जिल्लामा २१ जना नागरिकले ज्यान गुमाइसकेका छन्। म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेतलगायत जिल्लामा भएको मानवीय क्षतिप्रति प्रधानमन्त्रीले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।
प्रधानमन्त्रीले मनाङको हिमपहिरोमा परेकासहित ५ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी तथा उद्धारमा सुरक्षाकर्मीहरू अहोरात्र खटिरहेको बताए।
प्रभावित परिवारका लागि सम्बन्धित स्थानीय तहहरूसँग समन्वय गरी अस्थायी बसोबासको प्रबन्ध मिलाइएको छ। कुनै पनि नागरिक संकटमा परे तत्काल उद्धारका लागि निःशुल्क नम्बर १२३४ मा सम्पर्क गर्न उनले आग्रह गरे।

प्रतिक्रिया