जडीबुटी खोज्दै मुगुबाट हुम्लाको सीमावर्ती वन पुगेका एक जनाको हिउँले पुरिएर मृत्यु भएको छ। मिमी सामुदायिक वनको तामाकोशी लेकमा हिउँले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्।

जडीबुटी संकलनका लागि घरबाट निस्किएका १३ जनामध्ये १० जना भने सकुशल सम्पर्कमा आएका छन्।

मुगुको मुगुम कार्मारोङ गाउँपालिका–८ पापुका २५ वर्षीय गणेशबहादुर बुढाको शव मिमी सामुदायिक वन क्षेत्रको तामाकोशी लेकमा भेटिएको हो। घटनास्थलमा कम्मरभन्दा माथिसम्म डुब्ने गरी हिउँ परेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा हिमपातका कारण लेक लागेर उनको मृत्यु भएको देखिएको छ।

अंख रोकाया र ललितजंग बढुवाल अझै तामाकोशी लेकमा सम्पर्कविहीन छन्। उनीहरू विवादपछि भागेर तामाकोशी लेकतर्फ गएको र त्यसपछि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।

बेपत्ता दुवै जनाको खोजीका लागि मुगुम कार्मारोङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय मुगुलाई अनुरोध गरेको छ।

मुगुम कार्मारोङ गाउँपालिका–८ पापु र हुम्लाको चंखेली गाउँपालिकाको सीमावर्ती क्षेत्रमा रहेको मिमी सामुदायिक वनमा कटुकीलगायत जडीबुटी खोज्न मुगुका स्थानीयहरू भदौ २८ गते घरबाट निस्किएका थिए।

स्थानीय १३ जनाको टोली चंखेली गाउँपालिका–२ को वन क्षेत्र हुँदै मुगुम कार्मारोङ गाउँपालिका–७ स्थित मिमी सामुदायिक वन क्षेत्रमा पुगेको थियो। त्यहाँ हुम्लाको बागेढुंगा सामुदायिक वनका अध्यक्ष रंगबहादुर शाहीको नेतृत्वमा रहेको १६ जनाको टोलीसँग उनीहरूको विवाद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मुगुबाट जडीबुटी खोज्न आएका स्थानीयलाई हुम्लातर्फका स्थानीयले आफ्नो क्षेत्रमा जडीबुटी संकलन नगर्न भनेपछि विवाद भएको थियो। उक्त क्षेत्रमा वन क्षेत्रको सीमासम्बन्धी विवादसमेत रहेको बताइएको छ।

विवादपछि केही स्थानीय भागेर तामाकोशी लेकतर्फ गएका थिए। त्यही क्रममा हिमपातमा परेर गणेशबहादुर बुढाको मृत्यु भएको र अंख रोकाया तथा ललितजंग बढुवाल बेपत्ता भएको प्रहरीले जनाएको छ।

अन्य १० जना भने हुम्लातर्फको सहज बाटो हुँदै फर्किएपछि सकुशल सम्पर्कमा आएका हुन्।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (एसएसपी) सन्तोषसिंह राठौरले मिमी वन क्षेत्रको लेकमा एक जनाको शव भेटिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए।

‘मिमी वन क्षेत्रको लेकमा एक जना मृत अवस्थामा भेटिएका छन्। उनले भने, ‘प्रारम्भिक विवरणमा लेक लागेर मृत्यु भएको देखिएको छ।’

मुगुका प्रहरी प्रमुख (डिएसपी) रविराज थपलियाले पनि जडीबुटी संकलन गर्ने विषयमा दुई पक्षबिच विवाद भएको तर झडपकै कारण मृत्यु भएको नदेखिएको बताए।

‘हुम्लातिर जडीबुटी खोज्न जाँदा मुगुका स्थानीयलाई आफ्नो क्षेत्रतिर जडीबुटी नखोज्न भनिएपछि विवाद भएको देखिन्छ,’ डिएसपी थपलियाले नागरिकसँग भने, ‘सीमा विवाद भए पनि दुई पक्षबिच झडप भएर मृत्यु भएको भन्ने घटनाक्रम देखिँदैन। विवादपछि भाग्ने क्रममा हिमपातका कारण लेक लागेर मृत्यु भएको देखिन्छ। प्रहरीले घटनाबारे अझ विस्तृत रूपमा अनुसन्धान गरिरहेको छ।’

मिमी वन क्षेत्रको तामाकोशी लेकमा अहिले कम्मरभन्दा माथिसम्म डुब्ने गरी हिउँ परेको प्रहरीले जनाएको छ। कठिन भौगोलिक अवस्था र हिमपातका कारण बेपत्ता दुई जनाको खोजीमा समेत समस्या भएको छ। घटनापछि स्थानीय तह र प्रशासनले खोजी तथा उद्धारका लागि पहल थालेका छन्।

कटुकी माटोमुनि जरा खनेर संकलन गरिने जडीबुटी हो। मिमी सामुदायिक वन क्षेत्रमा कटुकीलगायत जडीबुटी संकलन गर्न मुगु र हुम्लाका स्थानीयहरू जाने गरेका छन्।

वन क्षेत्रको सीमालाई लिएर यसअघि पनि विवाद हुने गरेको स्थानीयको भनाइ छ। घटनाको वास्तविक कारण र बेपत्ता दुई जनाको अवस्थाबारे थप अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ।