सिनेमा हलमा दर्शकले टिकट काटेर हेर्नुपर्ने चलचित्रको १५–२० मिनेटको दृश्य मोबाइलमा कैद गर्ने अनि सामाजिक सञ्जालमा अपलोड गरेर भ्युज बटुल्ने प्रवृत्ति पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा टाउको दुखाइ बन्न थालेको छ।

चलचित्र हलमा प्रदर्शन भइरहेको हुन्छ, तर सामाजिक सञ्जालमा भने त्यही चलचित्रका महत्वपूर्ण दृश्य ‘फ्री’मा घुमिरहेका हुन्छन्। केही सेकेन्डको रील वा छोटो दृश्यसम्म त प्रचारको माध्यम बन्न सक्छ, तर १५–२० मिनेटसम्मको लामो क्लिप नै सामाजिक सञ्जालमा पुग्न थालेपछि त्यसले चलचित्रको व्यापार र निर्माताको लगानीमा प्रत्यक्ष असर पार्ने चिन्ता बढेको छ।

अहिले यही प्रवृत्तिको सिकार अभिनेता तथा निर्देशक निखिल उप्रेतीको चलचित्र ‘आचार्य’ पनि बनेको छ। प्रदर्शनमा रहेको चलचित्रका लामो क्लिप टिकटक र फेसबुकमा छ्यापछ्याप्ती देखिन थालेपछि निखिल आफैंले सामाजिक सञ्जालमार्फत यस्तो कार्य नगर्न दर्शकलाई आग्रह गरेका छन्।

निखिलले आइतबार सार्वजनिक गरेको भिडियोमा चलचित्र निर्माणसँग जोडिएको लगानी, श्रम र सपनाबारे गुनासो पोखेका छन्। चलचित्र निर्माणमा ठूलो लगानी हुने र निर्माताले त्यससँगै ठूलो सपना बोकेको भन्दै उनले सामाजिक सञ्जालमा लामो क्लिप राख्ने प्रवृत्तिले निर्माताको लगानीमा धक्का पुग्ने बताएका छन्।

‘चलचित्र बनाउनलाई लगानी हुन्छ। बनाएपछि त्योसँग जोडिएको धेरै सपना हुन्छ। लगानीकर्ताको सपना हुन्छ,’ निखिलले भनेका छन्, ‘त्यसै पनि हामीलाई नेपाली चलचित्रमा धेरै किसिमका अप्ठ्यारा छन्। कतिपय ठाउँमा छायांकनका लागि अनुमति पाउँदैनौँ। स्रोतसाधनको पनि कमी छ। ती सबै कमी–कमजोरी हुँदाहुँदै पनि विदेशी चलचित्रको प्रभाव कम गर्दै नेपाली चलचित्रलाई एउटा स्तरमा पुर्‍याउन निरन्तर लागिरहेका छौँ।’

उनले सामाजिक सञ्जालमा भ्युज बढाउनकै लागि चलचित्रका १५–२० मिनेटका क्लिप राख्ने कार्यले निर्माताको सपनामाथि नै खेलवाड भइरहेको बताएका छन्।

‘यति धेरै दुःख गरेर लगानी गरेको त्यो निर्मातामाथिको, त्यो सपनामाथिको यो खेलवाड हो,’ निखिलले भनेका छन्, ‘मान्छेहरूले आफ्नो भ्युज बढाउनका लागि १५ देखि २० मिनेटसम्मका क्लिपहरू टिकटकमा राख्छन्। यसले निर्माताको लगानीमा ठूलो धक्का दिन्छ।’

निखिलको यो गुनासो नयाँ भने होइन। यसअघि पनि ‘लालीबजार’, ‘गौंथली’ र ‘आइ एम जीतबहादुर’ लगायतका चलचित्रका दृश्य सामाजिक सञ्जालमा अनधिकृत रूपमा सार्वजनिक भएका गुनासा आएका थिए।

चलचित्र विकास बोर्डले समेत प्रदर्शनमा रहेका नेपाली चलचित्रका मुख्य–मुख्य अंश सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिन थालेपछि यसप्रति आपत्ति जनाउँदै सार्वजनिक सूचना जारी गरिसकेको छ। बोर्डका अनुसार चलचित्रका मुख्य अंश अनधिकृत रूपमा डिजिटल माध्यममा अपलोड गर्दा निर्माताको लगानी र चलचित्रसँग जोडिएका व्यक्तिको मेहनतमा असर पर्न सक्छ। बोर्डले यस्तो कार्यलाई प्रतिलिपि अधिकारसम्बन्धी कानुनअन्तर्गत दण्डनीय हुने भन्दै हलभित्र मोबाइल वा क्यामेराबाट चलचित्र खिच्नसमेत रोक लगाएको छ।

बोर्डले प्रतिलिपि अधिकार ऐन, २०५९ र नियमावली, २०६१ अनुसार त्यस्ता सामग्री अपलोड गर्ने कार्यमा प्रयोग भएको उपकरण जफत हुनुका साथै दण्ड, जरिवाना र क्षतिपूर्तिसमेत हुन सक्ने चेतावनी दिएको छ।

‘भ्युज’ केही मिनेटको, असर लामो

सामाजिक सञ्जालमा एउटा भिडियोले केही घण्टामै लाखौँ भ्युज पाउन सक्छ। तर त्यसको पछाडि रहेको चलचित्र निर्माणको लगानी भने करोडौँ रुपैयाँको हुन सक्छ। नेपालमा एउटा चलचित्र निर्माणमै दुई–तीन करोड रुपैयाँसम्म खर्च हुने गरेको निर्माण पक्षको दाबी छ।

प्रदर्शनमा आएका सबै चलचित्रले लगानी सुरक्षित गर्न नसकिरहेको अवस्थामा हलमा चलिरहेको चलचित्रको महत्वपूर्ण अंश नै सामाजिक सञ्जालमा पुग्नु थप चुनौती बन्ने गरेको चलचित्रकर्मीहरूको बुझाइ छ।

यसलाई चलचित्रको व्यापारमा असर पार्ने एक कारणका रूपमा हेरिए पनि चलचित्रको व्यावसायिक प्रदर्शनमा कथा, कलाकार, प्रचारप्रसार, प्रदर्शनको समय, हलको उपलब्धता, दर्शकको रुचिलगायत अनेक पक्षले प्रभाव पार्छन्। त्यसैले कुनै एउटा चलचित्रको कमजोर व्यापारलाई केवल सामाजिक सञ्जालमा आएका क्लिपसँग मात्र जोडेर हेर्नु पर्याप्त हुँदैन।

हलमा टिकट काटेर हेर्नुपर्ने चलचित्रको लामो अंश नै मोबाइलमा कैद गरेर निःशुल्क वितरण गर्ने प्रवृत्तिले चलचित्रको मौलिक सिर्जना र प्रतिलिपि अधिकारको प्रश्न भने गम्भीर बनाएको छ।

‘आचार्य’का निर्माता तथा निर्देशक निखिलको अपिल पनि यही चिन्तासँग जोडिएको छ, भ्युजका लागि केही मिनेटको भिडियो अपलोड गर्दा कसैको वर्षौँको मेहनत र करोडौँको लगानी जोखिममा नपरोस्।