होटल सोल्टी क्राउन प्लाजामा आइतबार साँझ सौन्दर्य प्रतिभाको आयोजना हुने भएको छ। यसका लागि बलिउडबाट कलाकार तथा मोडेललाई निमन्त्रणा गरिएको छ। विश्वभर नेपालको प्रतिनिधित्व गर्ने दुई प्रतिष्ठित ताज, ‘मिस युनिभर्स नेपाल’ र ‘मिस अर्थ नेपाल’ को विजेता छनोटका लागि दशौँ संस्करणको ग्रान्ड फिनाले आइतबार आयोजना हुन लागेको हो।

११० जना देशको विभिन्न स्थानबाट आएका सुन्दरीहरूमध्ये कडा प्रतिस्पर्धा पार गर्दै अन्तिम १४ जना सुन्दरीहरू आज साँझ ५ बजे सोल्टीको झिलिमिली र्‍याम्पमा उत्रिनेछन्।

मुख्य निर्णायकाको रुपमा बलिउड अभिनेत्री तथा पूर्व मिस युनिभर्स इन्डिया सेलीना जेटली र चर्चित मोडल मनिका विश्वकर्मा देखिने छन्। यी कलाकार उक्त प्रतिस्पर्धालाई थप आकर्षक बनाउन आइतबार काठमाडौं आइपुगेका हुन्।

ग्लोबल ग्ल्यामर भेन्चर्सकी निर्देशक संगिता पुरीका अनुसार आज चयन हुने दुई विजेताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा फहराउनेछन्।

मिस युनिभर्स नेपाल मनोरम टापु पोर्तो रिकोमा आयोजना हुने मिस युनिभर्सको मुख्य प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्नेछन्।

वातावरण र प्रकृतिको सन्देश बोकेर फिलिपिन्सको मनिलामा आयोजना हुने मिस अर्थमा सहभागी हुनेछन्।

कुन सुन्दरीको शिरमा पहिरिनेछ त बहुप्रतीक्षित क्राउन यसको जवाफ ​साँझ आउने छ।