लमजुङको बेंसीसहर नगरपालिका-११ रामचोक बेँसीमा घरमाथिबाट पहिरो खस्दा कोठामा डेरा गरी बस्दै आएका आमा-छोरा घाइते भएका छन्।
आइतबार बिहान करिब ६:३० बजे स्थानीय प्रकाश बहादुर सेढाईको घरमाथिबाट अचानक पहिरो खसेको थियो। पहिरोले घरमा क्षति पुर्याउनुका साथै त्यहाँ भाडामा बस्दै आएका दुई जनालाई घाइते बनाएको हो। उक्त घरमा उनीहरू दुई जना मात्र बस्दै आएका थिए।
घाइते हुनेहरूमा लमजुङकै दोर्दी गाउँपालिका-५ छती स्थायी ठेगाना भएकी अन्दाजी ३५ वर्षीया बास माया तामाङ र उनका ६ वर्षीय छोरा अमृत तामाङ रहेका छन्। पहिरोमा परी आमा र छोरा दुवैको टाउकोमा चोट लागेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घटनालगत्तै घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल लमजुङ पठाइएको छ।
पहिरोबाट घरमा क्षति पुगेको भए पनि अन्य क्षतिको यकिन विवरण आउन बाँकी रहेको र थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया