लगातारको वर्षाका कारण चितवनका विभिन्न स्थानमा खोलानाला तथा नदीमा पानीको बहाव बढ्दा बस्तीमा डुबानको जोखिम बढेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणी नदीसहित स्थानीय खोलामा पानीको सतह बढेपछि केही बस्तीमा पानी पस्न थालेको छ भने केही स्थानमा सडकसमेत अवरुद्ध भएको छ।
आइतबार पूर्वि चितवनको पम्पा खोला, राप्ती खोला, कैयर खोला लदरी खोलामा पानीको बहाब बढेको छ। भरतपुर महानगरपालिका १६ स्थित गुम्बाचौर झनझनेमा पनि नारायणी बस्तीमा छिरेको छ। भरतपुर महानगरपालिकाको १७ र १ नम्बर वडाका विभिन्न ठाउँमा बस्तीमा पानी छिरेको प्रहरीले जानकारी दिएको छ।
त्यस स्थानबाट ११ घरधुरीलाई विद्यालयमा सारिएको छ। यता माडी नगरपालिका वडा नम्बर १मा ३५ घरधुरीका मानिसलाई नजिकैको आफन्तको घरमा स्थान्तारण गरेको प्रहरीले जानकारी दिएको छ। भरतपुर १ स्थित देवघाटका धर्मशाला, कुटी, मन्दिर, पसलहरु डुवानमा परेका छन्।
उत्ता माडी नगरपालिका–१ अन्तर्गत रिउ खोलामा पानीको बहाव बढ्दा सेरुवा अमिलिया र चन्द्रपुरी बस्तीमा पानी पसेको थालेको प्रहरीले जनाएको छ। सो क्षेत्रमा १० घरधुरीलाई स्थानीय विद्यालयमा सुरक्षित राखिएको छ। सोही वडाको अर्को क्षेत्रमा पानीको सतह बढेपछि भरतपुर–माडी–ठोरी सडक अवरुद्ध भएको छ।
माडी नगरपालिका–९ कै प्याउली क्षेत्रमा पानी बस्तीमा पसेपछि ४ घरधुरीका १३ जनालाई शान्ति मण्डली चर्चमा स्थानान्तरण गरिएको छ। माडी नगरपालिका–८ मा पनि पानी बस्तीमा पस्न थालेपछि ११ घरधुरीका ७० जनालाई मगर होमस्टेमा सुरक्षित राखिएको छ।
यसैबिच नारायणी नदी निरन्तर बढ्दो अवस्थामा रहेको छ। आइतबार बिहान ११ बजेसम्म नारायणीको पानीको मापत ११ दशमलव ५८ मिटर तहसम्म पुगेको छ। यो खतराको तहभन्दा निकै माथि हो। नारायणीमा ९ मिटरसम्मको तहलाई खतराको मापन गरिन्छ।
उत्ता गैडाकोट तर्फ पनि नारायणीले डुवान गरेको छ। त्यहाँका १० घरलाई स्थानान्तरण समेत गरिएको छ।
तस्बिर : वसन्त ढुंगाना











प्रतिक्रिया