बाढीका कारण हजारौँ परिवार प्रभावित भएको एक महिनापछि पनि नेपालका विभिन्न प्रभावित समुदायमा बालबालिका तथा परिवारहरू सुरक्षित खानेपानी, शिक्षा, संरक्षण र अन्य अत्यावश्यक सेवाको पहुँचका लागि संघर्ष गरिरहेका छन्।

यसबीच, प्लान इन्टरनेशनल नेपालले १२ हजार ४९३ जनासम्म मानवीय सहायता पुर्या एको छ, जसमा ४२०२ जना बालबालिकाहरू रहेका छन्। तत्कालीन राहतबाट पुनर्स्थापनातर्फ अघि बढ्दै गर्दा प्रभावित परिवारको आवश्यकता सम्बोधन गर्न सहयोग निरन्तर जारी छ।

प्लान इन्टरनेशनल नेपालले नुवाकोट, रसुवा तथा आसपासका प्रभावित समुदायमा बालबालिका, किशोरी तथा सबैभन्दा बढी प्रभावित परिवारलाई प्राथमिकतामा राख्दै खानेपानी तथा सरसफाइ, खाद्य सहायता, आश्रय, बाल संरक्षण, शिक्षा, पोषण तथा मनोसामाजिक सहयोग प्रदान गर्दै आएको छ।

हालसम्म १ लाख ४० हजार लिटरभन्दा बढी सुरक्षित खानेपानी उपलब्ध गराइएको छ भने १४ वटा खानेपानी प्रणाली तथा पानीका मुहान मर्मत तथा पुनर्स्थापना गरिएको छ। साथै, २,००८ घरधुरीलाई स्वच्छता सामग्री, १,३११ घरधुरीलाई खाद्य सहायता, १०७३ घरधुरीलाई भान्साका सामग्री र ७३३ घरधुरीलाई आपत्कालीन आश्रय सामग्री उपलब्ध गराइएको छ। सडक तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेका दुर्गम क्षेत्र, विशेषगरी रसुवाको आमाछोदिङ्मो गाउँपालिकाका समुदायमा हवाई उद्धार तथा स्थानीय यातायातमार्फत राहत सामग्री पुर्यागइएको छ।

बालबालिकाको सुरक्षा तथा मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दैछ वटा बालमैत्री स्थान स्थापना गरिएका छन् र ७९९ जनाले मनोसामाजिक सहयोग प्राप्त गरेका छन्। बाल संरक्षणसम्बन्धी जोखिम पहिचान गरी आवश्यक सेवाका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको छ। अस्थायी सिकाइ केन्द्र तथा विद्यालयमार्फत शैक्षिक सहयोग उपलब्ध गराउनुका साथै दृष्टिविहीन बालबालिकाका लागि ब्रेल सामग्रीसमेत उपलब्ध गराइएको छ। बालबालिका तथा गर्भवती र सुत्केरी महिलाका लागि पोषण परीक्षण, आवश्यक सामग्री तथा थप उपचारका लागि सिफारिसको व्यवस्था पनि गरिएको छ।

‘आपत्कालीन राहत सकिएपछि पनि पुनर्स्थापनाको आवश्यकता सकिँदैन। बालबालिकाका लागि सुरक्षित महसुस गर्नु, पढाइमा फर्कनु र आवश्यक सेवामा पहुँच पाउनु पनि पुनर्स्थापनाकै महत्वपूर्ण हिस्सा हो,’ प्लान इन्टरनेशनल नेपालकी कार्यवाहक राष्ट्रिय निर्देशक सृजना गुरुङले भनिन्, ‘स्थानीय सरकार तथा साझेदार संस्थासँगको सहकार्यमा दुर्गम तथा प्रभावित समुदायसम्म पुग्ने र राहत तथा पुनर्स्थापनाको प्रक्रियामा बालबालिका र किशोरीलाई केन्द्रमा राख्ने हाम्रो प्रयास निरन्तर छ।’

प्लान इन्टरनेशनल नेपालले स्थानीय सरकार, नेपाल रेडक्रस सोसाइटी, संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्य मानवीय साझेदारसँगको समन्वयमा राहत वितरण, दुर्गम समुदायसम्म पहुँच तथाखानेपानी तथा सरसफाइ, शिक्षा, बाल संरक्षण, पोषण, आश्रय र नगद सहायतालगायतका क्षेत्रमा प्रारम्भिक पुनर्स्थापनाको योजना निर्माणमा सहयोग गरिरहेको छ।

तत्कालीन राहतबाट दीर्घकालीन पुनर्स्थापनातर्फ अघि बढ्दै गर्दा प्रभावित बालबालिका तथा परिवारलाई सुरक्षित खानेपानी, शिक्षा, संरक्षण र अन्य अत्यावश्यक सेवामा निरन्तर पहुँच सुनिश्चित गर्न थप सहयोग आवश्यक रहनेछ।