वर्षासँगै देशका प्रमुख नदीको जलसतह बढ्न थालेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी तथा तटीय क्षेत्रको अनुगमन गर्न थालेको छ।
जलस्रोत तथा सिँचाइ कार्यालयमार्फत दिनभर नदीको अवस्था निगरानी हुने र स्थानीय प्रशासनसँगै स्थानीय तहसँग समन्वय गरी आपत्कालीन अवस्थाको लागि प्राविधिक टोलीलाई तयारी अवस्थामा राखेको मन्त्रालयले जनाएको छ।
सल्यानको कालिमाटी–२ स्थित शारदा नदीमा जलसतह बढिरहेको भन्दै मन्त्रालयले नदीको अवस्था उच्च निगरानीमा राख्दै स्थानीय प्रशासनसँग समन्वय गर्दै तटीय क्षेत्रका बासिन्दालाई नदी किनारबाट टाढा आग्रह समेत गरेको छ।
यसैगरी झापाको गौरीगन्ज–१ स्थित कन्काई नदीको तटबन्धको कटान रोक्न सुरक्षाकर्मीको सहयोग काम भइरहेको मन्त्रालयले जनाएको छ।
साथै रौतहटको राजपुर नगरपालिकास्थित भगवानपुरमा लालबकैया नदीको बायाँ किनारमा संरक्षण गर्नुको साथै चितवनको भरतपुर–१ स्थित गौरेश्वर मन्दिर नजिक नारायणी नदीमा डुबानमा परेको क्षेत्रमा निरन्तर निगरानी भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार केही स्थानमा पूर्वतयारीका संरचना प्रभावकारी देखिएका छन्। नारायणी नदीअन्तर्गत भरतपुर–१६ सेतीदेवी र भरतपुर–१७ माझुवामा अति जोखिमयुक्त स्थानमा उल्लेख्य कटान भएको छैन।
झापा गाउँपालिका–२ स्थित कन्काई नदीमा साउन १० गते गरिएको पूर्वतयारी कार्य प्रभावकारी देखिएको छ। त्यहाँ जलसतह चेतावनी तहभन्दा तल रहेको मन्त्रालयले जनाएको छ। दाङको लमही–४ सेमरहवा र बाँकेको राप्ती सोनारी–७ खल्ला झगडियामा पश्चिम राप्ती नदीका तटबन्ध र स्पर सुरक्षित रहेका छन्।
दाङको घोराही–३ लक्ष्मीपुरस्थित बबई नदीमा जलसतह सामान्यभन्दा केही माथि रहे पनि नवनिर्मित ग्याबियन संरचना सुरक्षित रहेको मन्त्रालयले जनाएको छ। पश्चिम राप्तीको भालुवाङ पुल, प्युठानको माडी चाकचाके तथा भेरी नदीको रिम्ना दोभान तलको अवस्था पनि सामान्य रहेको बताइएको छ।

प्रतिक्रिया