डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-७ रावलबाडामा वर्षासँगै भिरबाट खसेको ढुंगाले लाग्दा एक जनाको ज्यान गएको छ।

उक्त घटनामा एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार शुक्रबार राति करिब ९ः४५ बजे रावलबाडाका ३३ वर्षीय मनरुप केसी र ३८ वर्षीय चन्द्ररुप केसी बगर हरेलखोलास्थित गाईगोठमा सुतिरहेका थिए। सोही क्रममा वर्षासँगै भिरबाट खसेको ढुंगाले लाग्दा मनरुपको घटनास्थलमै ज्यान गएको हो।

ढुंगा लागेर चन्द्ररुपको ढाडमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षकको कमान्डमा एसओसीओसहितको टोली घटनास्थलमा पुगेको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।