नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकारमाथि आर्थिक अवस्था सुधार गर्न नसकेको आरोप लगाएका छन्।

बस्नेतले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन्। उनले पछिल्लो दुई महिनामा मुलुकको व्यापार घाटा ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको बताउँदै सार्वजनिक ऋणसमेत करिब २९ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको उल्लेख गरेका छन्।

त्यस्तै, बस्नेतले सरकारले ठूलो आकारको बजेट ल्याए पनि विकास खर्च कमजोर रहेको र राजस्व संकलन न्यून रहेको बताएका छन्। उनले उद्योग तथा व्यवसाय क्षेत्र दबाबमा रहेको भन्दै सरकारलाई आश्वासनभन्दा उत्पादन, निर्माण, रोजगारी सिर्जना र निजी क्षेत्रको आत्मविश्वास बढाउने ठोस काम गर्न आग्रह गरेका छन्।

‘बालेन्द्र शाह प्रधानमन्त्री र स्वर्णिम वाग्ले अर्थमन्त्री हुँदा पछिल्लो दुई महिनामै व्यापार घाटा रु. ३ खर्ब २४ अर्ब ९३ करोड र सार्वजनिक ऋण करिब रु. २९ खर्ब ७३ अर्ब पुगेको छ। बजेट ठूलो आकारको, विकास खर्च अत्यन्त कमजोर, राजस्व संकलन न्यून र उद्योग व्यवसाय पूर्ण रूपमा दबाबमा छन्,’ उनले भनेका छन्, ‘सरकारले आश्वासन होइन, उत्पादन, निर्माण, रोजगारी र निजी क्षेत्रको आत्मविश्वास बढाउने ठोस काम गरोस्।’

उनले युवा तथा उद्यमीलाई साथ र प्रोत्साहन दिँदै देशभित्रै अवसर सिर्जना गर्नुपर्ने बताएका छन्। विश्वमञ्चमा राहत माग्नेभन्दा आफ्नै श्रम, सीप र उत्पादनबाट देश निर्माण गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ।

‘युवा र उद्यमीलाई साथ र प्रोत्साहन दिऔँ, देशमै अवसर सिर्जना गरौँ। विश्वमञ्चमा राहत माग्न हात फैलाउने होइन, आफ्नै श्रम, सीप र उत्पादनबाट देश बनाउने वातावरण तयार गरौँ,’ उनले भने।