बंगालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा डुबानको जोखिम बढेपछि झापामा जोखिम क्षेत्रको निगरानीका लागि पहिलोपटक ड्रोन प्रयोगमा ल्याइएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिले बाढी तथा डुबानको जोखिम निगरानी र उद्धार कार्यका लागि शुक्रबार ड्रोन प्रयोगमा ल्याएको हो। डिभिजन वन कार्यालयसँग समन्वय गरी प्रयोगमा ल्याइएको ड्रोनबाट जोखिमयुक्त नदी तथा खोलाका पुल, तटबन्ध, कमजोर नदी किनारा, बस्ती तथा डुबान हुनसक्ने क्षेत्रको निगरानी गरिने भएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले विपद् प्रतिकार्यका लागि उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी आवश्यक सूचना संकलन र उद्धारलाई प्रभावकारी बनाउन ड्रोन प्रयोग गरिएको बताए। ‘जोखिम नक्साकंनका आधारमा नदी तथा खोलाका संवेदनशील क्षेत्रको निगरानी गरी प्राप्त सूचनाका आधारमा आवश्यक उद्धार र प्रतिकार्य अघि बढाइनेछ,’ उनले भने।
उनका अनुसार गौरिगञ्ज गाउँपालिकाका वडा नं १ र २ का ४७४ तथा झापा गाउँपालिकाका वडा नं १ र २ का ६९५ गरी एक हजार १६९ घरपरिवार डुबानको जोखिममा छन्। सम्भावित विपद्को प्रतिकार्यका लागि जिल्लामा नौवटा विपद् प्रतिकार्य डुङ्गा, नेपाली सेनाका चारवटा ‘क्विक रेस्पोन्स टिम’ तथा सशस्त्र प्रहरीका उद्धार टोली तयारी अवस्थामा राखिएको छ।
प्रजिअ पोखरेलका अनुसार जोखिमयुक्त नदी तथा खोलाका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबाट नियमित अनुगमन तथा निरीक्षण भइरहेको छ। शुक्रबार कनकाई, बिरिङ र मेची नदीको जलसतह खतराको तहमा पुगेपछि दिउँसो साइरन बजाइएको थियो। ती नदी क्षेत्रमा तीन साइरन जडान गरिएको र शुक्रबार साँझतिर जलसतह घटेको उनले जानकारी दिए।
‘इलाम क्षेत्रमा भारी वर्षा भएपछि त्यहाँबाट बगेर आउने नदीमा करिब तीन घण्टामा झापामा बाढी आइपुग्ने भएकाले त्यसलाई आधार बनाएर साइरन बजाउने र ‘अर्ली वार्निङ सिस्टम’मार्फत जोखिममा रहेका क्षेत्रमा सूचना दिने व्यवस्था मिलाइएको छ,’ उनले भने। रासस

प्रतिक्रिया