नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तरगत बाँकेमा प्रतिनिधि सभा क्षेत्र र प्रदेश सभाको अधिवेशन मिति पछाडि सारिएको छ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज १० गते देशभर प्रतिनिधि सभा र प्रदेश सभाको क्षेत्रीय अधिवेशन गर्ने मिति तय गरेको थियो। अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेपछि नेपाली कांग्रेस १५ औँ महाधिवेशन जिल्ला निर्वाचन सहजीकरण समिति बाँकेको शुक्रबार बसेको बैठकले अधिवेशनको निर्वाचन प्रक्रिया एक दिन पछाडि सार्ने निर्णय गरेको हो।
बैठकको निर्णय अनुसार असोज १० गते शनिवारका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा अधिवेशनलाई असोज ११ गतेका लागि सारिएको हो। ‘अधिवेशनको निर्वाचन प्रक्रिया अन्तर्गत असोज ११ गते उम्मेदवार मनोनयन दर्ता र असोज १२ गते बिहान ८ बजेबाट तीन वटै क्षेत्रमा मतदान सुरु गर्ने निर्णय भएको छ,’ मुख्य निर्वाचन अधिकृत एवम् अधिवक्ता बीरबहादुर रोकायले भने।
प्रतिनिधि सभा र प्रदेश सभाको अधिवेशन स्थल क्षेत्र नम्बर १ को कोहलपुर, क्षेत्र नम्बर २ को जिल्ला समन्वय समिति नेपालगन्ज र क्षेत्र नम्बर ३ को खजुरा मिनी पार्कमा गर्ने निर्णय पनि भएको उनले बताए। अधिवेशन स्थललाई व्यवस्थित गर्नका लागि सम्बन्धित क्षेत्रका क्षेत्रीय सभापति तथा कार्यसमितिसँग निर्वाचन समितिले आवश्यक समन्वय गर्ने निर्णय पनि भएको छ। यसैगरी उक्त बैठकले निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण रूपले सम्पन्न गर्नका लागि तयार गरिएको आचार संहितालाई पनि सर्वसम्मत रूपले पारित गरेको छ।
जिल्ला निर्वाचन सहजीकरण समितिका संयोजक एवम् वरिष्ठ अधिवक्ता भोलासिंह हमालको अध्यक्षतामा सम्पन्न भएको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल वाल्मीकि, बाँके जिल्ला सभापति नारायणप्रसाद गौडेल, अधिवेशनका मुख्य निर्वाचन अधिकृत एवम् अधिवक्ता बीरबहादुर रोकाय, जिल्ला निर्वाचन अधिकृत एवम् डिएलए बाँकेका अध्यक्ष कपिलदेव शर्मा, पार्टीका क्षेत्रीय सभापतिहरू, जिल्लाका अन्य पदाधिकारीहरू, निर्वाचन समिति र सहजीकरण समितिका पदाधिकारी लगायत उपस्थित भएको समितिका प्रवक्ता एवम् नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष कमल खत्रीले जानकारी दिए।

प्रतिक्रिया