नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साँधेर मुद्दा चलाइएको दाबी गरेका छन्।

उक्त निर्णयमा राज्यको एक पैसा पनि नोक्सानी नभएको र कुनै सरकारी जग्गा हिनामिना नभएको उनको प्रस्टीकरण छ।

बुधबार नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रम कुराकानी गर्दै पूर्वप्रधानमन्त्री नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको इख र बदला लिने प्रवृत्तिका कारण आफूलाई फसाउन खोजिएको आरोप लगाए।

‘यो मुद्दा प्रथम दृष्टि मै खारेज हुनुपर्ने विषय हो,’ नेपालले भने, ‘त्यहाँ सरकारी जमिन एक टुक्रा पनि परेको छैन। पतञ्जलीले आफ्नै लगानीमा किनेको निजी जग्गामा योग केन्द्र, आयुर्वेदिक अस्पताल, क्याम्पस र जडीबुटी उद्योग चलाउन कानुनबमोजिम हदबन्दी छुट मात्र दिइएको हो।’

‘सबै प्रक्रिया पुर्‍याएर मन्त्रिपरिषद्बाट निर्णय’

उक्त निर्णय गर्दा कुनै कानुन वा विधिलाई नमिचिएको दाबी गर्दै उनले प्रशासनिक तहका सबै निकायको सिफारिसमा मात्रै मन्त्रिपरिषद्ले स्वीकृति दिएको बताए।

‘स्थानीय प्रशासन, स्वास्थ्य मन्त्रालय र भूमिसुधार मन्त्रालयका सचिव हुँदै मन्त्रिपरिषद्को विधेयक समितिमा गहन छलफल भएर मात्र क्याबिनेटले निर्णय गरेको हो,’ नेपालले थपे, ‘त्यसमा नेपाल सरकारले राजस्व छुट दिएको छैन, उल्टै पूरा राजस्व असुल गरिएको छ। नेपालमा यसअघि ५६ वटा भन्दा बढी संस्थालाई यस्तै उद्देश्यका लागि हदबन्दी छुट दिइएको रेकर्ड छ।’

आफूले जीवनभर भ्रष्टाचारविरुद्ध अडान लिएको स्मरण गराउँदै उनले यस प्रकरणमा कुनै आर्थिक लेनदेन नभएको दाबी गरे। ‘के स्वामी रामदेव वा बालकृष्णले मलाई घूस दिए भनेर कसैले पत्याउँछ ? न ममाथि पैसा खाएको आरोप छ, न राज्यको सम्पत्ति मासिएको छ। राम्रो काम गर्दा स्याबासी पाउनुपर्ने ठाउँमा उल्टै मुद्दा खेप्नुपरेको छ,’ उनले भने।

यो सबै प्रकरण आफू पार्टीबाट अलग भएपछि ओली पक्षले राजनीतिक बदला लिन योजनाबद्ध रूपमा अघि बढाएको नेपालको आरोप छ। यद्यपि, अदालतप्रति आफ्नो पूर्ण विश्वास रहेको भन्दै उनले न्यायको मन्दिरबाट आफूले न्याय पाउनेमा ढुक्क रहेको सुनाए।