काठमाडौँ, ७ असोज । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रको व्यावसायिकता, विश्वसनीयता र संस्थागत गरिमा जोगाउन समग्र पत्रकारिता क्षेत्रले आफ्ना कमजोरीको निर्मम समीक्षा गरी सुधारको बाटोमा अघि बढ्नुपर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोह २०८३’ लाई सम्बोधन गर्नुहुँदै उहाँले पत्रकारिता आफैँमा एउटा संस्था भएकाले यसको शाख, मर्यादा र विश्वसनीयता जोगाउने जिम्मेवारी कुनै एउटा व्यक्ति वा संस्थाको मात्र नभई समग्र पत्रकारिता क्षेत्रको भएको बताउनुभयो ।
“पत्रकारिता भनेको आफैँमा एउटा संस्था हो । यो संस्थाको गरिमा हामी सबैले सामूहिकरूपमा जोगाउने र यसको स्तर उन्नति गर्ने हो । हाम्रो पत्रकारिताको शाख के कुराले कमजोर बनाइरहेको छ भन्ने कुरा सोच्ने जिम्मेवारी हरेक पत्रकारको हो”, उहाँले भन्नुभयो । सञ्चारमन्त्री डा तिमिल्सिनाले पत्रकारिताको मूल मर्म र व्यावसायिक मूल्यलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिँदै कस्तो पत्रकारिता र कस्ता सञ्चार संस्था निर्माण गर्ने भन्ने मूल प्रश्नको जवाफ खोज्नुपर्ने बताउनुभयो । “हामीले कस्तो पत्रकारिता बनाउन खोजेका हौँ, कस्ता संस्था निर्माण गर्न खोजेका हौँ र कस्तो पत्रकारिता क्षेत्र निर्माण गर्न चाहन्छौँ भन्ने मूल प्रश्नको जवाफ दिनुपर्छ”, उहाँले भन्नुभयो ।
उहाँले पत्रकारिता क्षेत्रको सुरक्षा, व्यावसायिकता र पत्रकारको भविष्यका विषयमा गम्भीर प्रश्न उठिरहेको उल्लेख गर्दै आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेयता यी विषयको समाधानका लागि आवश्यक काम अघि बढाइरहेको बताउनुभयो । सञ्चारमन्त्री तिमिल्सिनाले स–साना समस्यालाई लिएर एकअर्कामाथि आरोप लगाउँदै सडकमा जाने प्रवृत्तिले संस्थागत समस्या समाधान नहुने पनि स्पष्ट पार्नुभयो । उहाँले विधि, विधान र संस्थागत प्रणालीलाई बलियो बनाएर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
सञ्चारमन्त्री डा. तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण संस्थालगायत सार्वजनिक सञ्चार संस्थाको अवस्थाबारे पनि गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो । उहाँले ती संस्थाको लामो इतिहास र नेपाली संगीत, सञ्चार तथा पत्रकारिताको विकासमा रहेको योगदानको स्मरण गर्नुहुँदै पछिल्लो समय ती संस्थाहरू कमजोर अवस्थामा पुग्नुको कारण खोजिनुपर्ने बताउनुभयो । “अरबौँको सम्पत्ति भएको एउटा सञ्चार संस्थाले आफ्ना कर्मचारीको पेन्सन र सुविधाका लागि सरकारको अनुहारमा टुलुटुलु हेर्नुपर्ने अवस्था किन आयो ? वर्षौँदेखि लेखापरीक्षण हुन नसक्नुको कारण के हो ? यी प्रश्नको जवाफ खोज्नुपर्छ”, उहाँले भन्नुभयो । रेडियो नेपाल र नेपाल टेलिभिजनका भौतिक पूर्वाधार निजी संस्थाभन्दा कमजोर नरहेको उल्लेख गर्दै उहाँले उपलब्ध पूर्वाधार र स्रोत हुँदाहुँदै पनि संस्था बलियो हुन नसक्नुका कारण संस्थाभित्रै खोजिनुपर्ने बताउनुभयो । “यी संस्थालाई बलियो हुनबाट रोक्ने के शक्ति थियो ? त्यो प्रश्नको जवाफ हामीले भित्रैदेखि खोजेनौँ भने कुनै पनि समस्याको समाधान हुँदैन”, उहाँले भन्नुभयो ।
संस्थागत सुधारबिना सार्वजनिक सञ्चार संस्था र समग्र पत्रकारिता क्षेत्रलाई बलियो बनाउन नसकिने सञ्चारमन्त्री डा तिमिल्सिनाले बताउनुभयो । उहाँले विगतमा भएका गलत अभ्यास सच्याउन सबै पक्ष तयार हुनुपर्नेमा जोड दिनुभयो । “हामीले हिजो गरेका गलत कुरालाई सुधार गर्न निर्मम भएर तयार हुनुपर्छ । सबै पक्ष एकै ठाउँमा आएर संस्थालाई बलियो बनाउने सङ्कल्प गर्ने हो भने सुधार गर्न सकिन्छ । सुधार गर्नैपर्छ”, उहाँले भन्नुभयो ।
पत्रकारको सुरक्षा पहिलो प्राथमिकता
सञ्चारमन्त्री डा तिमिल्सिनाले पत्रकारिता जोखिम मोल्नुपर्ने पेशा भएपनि पत्रकारले आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । जोखिम मोलेर रिपोर्टिङ गर्ने पत्रकारलाई सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उहाँले पत्रकारिता जनतालाई सुसूचित गर्ने महत्वपूर्ण जिम्मेवारी भए पनि जोखिम लिनु र अनावश्यक रूपमा जीवन जोखिममा पार्नु फरक विषय भएको बताउनुभयो । “प्रेस पास भयो भन्दैमा जोखिमबाट नडराउने वा पत्रकार भइसकेपछि आफ्नो जीवनलाई जोखिममा राखेर रिपोर्टिङ गर्नुपर्छ भन्ने सोच राख्नु हुँदैन । सुरक्षा पहिलो कुरा हो”, उहाँले भन्नुभयो । सुरक्षा सुनिश्चित गर्ने प्रयास हुँदाहुँदै पनि कतिपय अवस्थामा पत्रकारले जोखिमपूर्ण घटनाको रिपोर्टिङ गर्नुपर्ने अवस्था आउने र त्यसक्रममा अप्रिय घटना हुने गरेको उल्लेख गर्दै उहाँले सम्भव भएसम्म आफ्नो सुरक्षाको ख्याल गर्दै व्यावसायिक जिम्मेवारी निर्वाह गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।
पाँच पत्रकार पुरस्कृत
हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट यसवर्ष पाँच जना पत्रकार पुस्कृत हुनुभएको छ । २०८२ साल भदौमा भएको जेनजी आन्दोलनका क्रममा जोखिमपूर्ण रिपोर्टिङ गरेका हिमालय टेलिभिजनका संवाददाता रामचन्द्र अर्याल, क्यामेरा पर्सन दिवाकर पोखरेल तथा कान्तिपुर टेलिभिजनका क्यामेरापर्सन श्याम श्रेष्ठलाई पुरस्कृत गरिएको छ । त्यस्तै, जलवायु परिवर्तन तथा वातावरणीय जोखिमसम्बन्धी समाचार सामग्रीका लागि नेपाल टेलिभिजनका धादिङ संवाददाता शिव सिलवाल र भक्तपुर संवाददाता अञ्जिर सिंह विकलाई पनि सम्मान गरिएको छ ।
हेम भण्डारी र सुनिल सिंहको स्मृतिमा नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले विसं २०६४ देखि हरेक वर्ष असोज ७ गते हेम–सुनिल साहसिक टेलिभिजन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । भौतिक तथा अन्य जोखिम मोलेर साहसिक पत्रकारिता गर्ने टेलिभिजन पत्रकारलाई यो पुरस्कार प्रदान गरिन्छ । विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा पत्रकार हेम भण्डारी र सुनिल सिंहको निधन भएको थियो । उहाँहरू वातावरणविद् तथा अन्य विशिष्ट व्यक्तित्वसँगै समाचार सङ्कलनका लागि त्यस क्षेत्रमा पुग्नुभएको थियो ।

प्रतिक्रिया