काठमाडौँ, ७ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको एघारौ संशोधन प्रक्रिया दसैँ अगाडि नै टुङ्ग्याउन निर्देशन दिनुभएको छ ।
मन्त्री पोखरेलले बुधबार मन्त्रालयकासचिवसहितका पदाधिकारी र सचिवालयसँग छलफल गर्दै शिक्षा नियमावलीको एघारौँ संशोधनको मस्यौदा तयार गरी नयाँ नियमावली लागू गर्नेगरी काम गर्न निर्देशन दिनुभएको हो ।
शिक्षा नियमावलीको दसौँ संशोधन आएदेखिनै बाहिर आएका गुनासालाई सम्बोधन गर्नेगरी मन्त्री पोखरेलले नियमावलीको एघारौ संशोधनको काम गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिदैँ आउनुभएको छ ।
शिक्षा नियमावलीको दसौँ संशोधनमा भएका कतिपय प्राव्धानमाथि असन्तुष्टि आएपछि मन्त्री पोखरेल, शिक्षामन्त्रीका प्रमुख सल्लाहकार, मन्त्रालयका उच्च अधिकारी र सचिवलालयले सबै सरोकारवालाहरुसँग मन्त्रालयमा चरणबद्ध छलफल गरेको थियो । त्यसैगरी सातै प्रदेशमा सरोकारवालासँग शिक्षा संवाद र छलफल गरेर राय सुझावई लिइएको थियो । कतिपय छलफलमा मन्त्री पोखरेल स्वयम् सहभागी हुनुभयो । शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका उच्च अधिकारी एवं विज्ञसहितको टोलीले देशभरबाट सुझाव सङ्कलन गरेको थियो ।
शिक्षा नियमावलीको दशौँ संशोधनपछि विशेषगरी शिक्षक सरुवामा देखिएका प्राविधिक समस्या, विद्यालय व्यवस्थापन समितिको सन्दर्भमा देखिएका जटिलतालगायतका कुराहरुमा आवश्यक संशोधनसहितको मस्यौदा तयार गर्न मन्त्री पोखरेलले निर्देशन दिनुभएको हो ।
मन्त्री पोखरेलले नेपाल सरकारले यसवर्षलाई कानुन निमर्माणको वर्ष घोषणा गरेको सन्दर्भलाई समेत जोडी मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने ऐन, नियमावलीलाई समेत छिटो टुङ्ग्याउने गरी काम गर्न पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।
दसौँ संशोधनपछि देखिएका समस्या तथा शिक्षक सरुवालगायत विषयमा आएका गुनासालाई सम्बोधन गर्ने गरी एघारौँ संशोधनको मस्यौदा तयार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया