नेकपाका सहअध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीति र प्रकृतिको चरित्र कतिपय अवस्थामा उस्तै हुने टिप्पणी गरेका छन् ।

प्रकृतिमा कहिलेकाहीँ आउने बाढीले जसरी ठूलो उथलपुथल ल्याउँछ, राजनीतिमा पनि त्यस्तै गरी अचानक आउने घटनाले स्थापित शक्ति र संरचनालाई प्रभावित पार्ने नेता नेपालको भनाइ छ ।

जेनजी आन्दोलनलाई राजनीतिक उथलपुथलको एउटा उदाहरणका रूपमा प्रस्तुत गर्दै नेता नेपालले आन्दोलनका क्रममा मुलुकका स्थापित राजनीतिक शक्तिहरू कमजोर अवस्थामा पुगेको बताए ।

‘प्रकृति जसरी कहिलेकाहीँ बाढी ल्याउँछ र सारा उथलपुथल बनाइदिन्छ, राजनीति पनि त्यस्तै हो,’ नेपालले भने, ‘कहिलेकाहीँ राजनीतिमा पनि ठूलो उथलपुथल आउँछ।’

उनले जेनजी आन्दोलनका क्रममा उठाइएका केही मागहरूलाई जायज भएको बताए ।

विशेषगरी देशमा सुशासन कायम हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण हुनुपर्ने तथा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाइनुपर्ने मागलाई उनले स्वाभाविक र सम्बोधन गर्नुपर्ने विषयका रूपमा व्याख्या गरे ।

तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अडान र हठका कारण आन्दोलनले ठूलो विद्रोहको रूप लिएको नेपालले बताए ।

नेपालका अनुसार जेनजी पुस्ताले उठाएका विषयलाई समयमै राजनीतिक रूपमा सम्बोधन गर्न सकेको भए परिस्थिति फरक हुन सक्थ्यो। तर सरकार र आन्दोलनकारीबीचको दूरी बढ्दै जाँदा असन्तुष्टि थप चर्किएको नेपालको भनाइ छ ।

‘जेनजीहरूले देशमा सुशासन कायम हुनुपर्छ, भ्रष्टाचार नियन्त्रण हुनुपर्छ र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनुपर्छ भनेर माग गरेका थिए । ती माग ठिकै थिए,’ नेपालले भने, ‘तर केपी ओलीको हठपनका कारण ठूलो विद्रोह हुन पुग्यो।’

उनको अभिव्यक्तिले जेनजी आन्दोलनलाई केवल तत्कालीन सरकारविरुद्धको असन्तुष्टिका रूपमा नभई लामो समयदेखि सञ्चित सामाजिक तथा राजनीतिक असन्तुष्टिको विस्फोटका रूपमा बुझ्नुपर्ने संकेत गर्छ ।

नेपालले राजनीतिक नेतृत्वले समयअनुकूल जनताको आवाज सुन्न नसके त्यसको परिणाम अप्रत्याशित राजनीतिक उथलपुथलका रूपमा देखा पर्न सक्ने धारणा पनि राखेका छन् ।