साउदी अरबको ९६ औं राष्ट्रिय दिवसका अवसरमा राजधानी काठमाडौंमा विशेष कूटनीतिक समारोह आयोजना गरिएको छ।
नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए म्निखरद्वारा आयोजित उक्त समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भए।
समारोहलाई सम्बोधन गर्दै राजदूत म्निखरले राजा अब्दुलअजिज बिन अब्दुर्रहमान अल साउदले एकीकरण गरेको साउदी अरबले आफ्नो मौलिक पहिचान, मूल्य र परम्पराको संरक्षण गर्दै विकास र समृद्धिको यात्रामा महत्त्वपूर्ण फड्को मारेको बताए।
यस वर्ष साउदी अरबले ‘हाम्रो गौरव हाम्रो प्रकृतिमा’ भन्ने मूल नाराका साथ आफ्नो राष्ट्रिय दिवस मनाएको हो।
समारोहमा मन्त्रिपरिषद्का सदस्यहरू, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, वरिष्ठ सञ्चारकर्मी, समाजका प्रतिष्ठित व्यक्तित्वहरू तथा मित्रराष्ट्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नेपाल र साउदी अरबबीच सन् १९७७ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
कूटनीतिक सम्बन्ध स्थापना भएयताका साढे चार दशकभन्दा बढी समयमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य र समझदारी थप प्रगाढ बन्दै गएको छ।

प्रतिक्रिया