नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबारदेखि पालिका अधिवेशन सुरु हुने कार्यतालिका भए पनि मोरङमा वडा अधिवेशन नै सम्पन्न हुन सकेको छैन।
नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले बुधबार पत्रकारसँगको भेटघाटमा सदस्यता विवादलगायतका कारण केही पालिकाका वडामा अधिवेशन समयमै सम्पन्न हुन नसकेको जानकारी दिए।
उनका अनुसार जिल्लाका अधिकांश वडामा अधिवेशन सम्पन्न भइसकेको छ भने केही वडामा मतदानमार्फत पदाधिकारी चयन गरिएको छ। नेता डा. शेखर कोइरालाको निर्वाचन क्षेत्रअन्तर्गतका केही पालिकामा भने अधिवेशनसम्बन्धी समस्या देखिएको उनले बताए।
विराटनगर महानगरपालिका–६ र सुन्दरहरैँचा नगरपालिका–६ मा समस्या देखिएपछि स्थानीय नेताहरूलाई विवाद समाधान गरी वडा अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको लिम्बूले बताए। ‘सम्भवतः एक–दुई दिनभित्रै समस्या समाधान हुन्छ,’ उनले भने।
मोरङमा १७ वटा पालिकाअन्तर्गत १५९ वडा रहेका छन्। सभापति लिम्बूका अनुसार क्षेत्र नम्बर १, २, ३, ४ र ५ का अधिकांश वडामा अधिवेशन सम्पन्न भइसकेको छ। केही वडामा भने निर्वाचनमार्फत पदाधिकारी चयन गरिएको छ।
विराटनगरका केही वडामा बुधबार अधिवेशन भए पनि वडा नम्बर ६ मा प्राविधिक कारणले अधिवेशन रोकिएको उनले बताए।
लिम्बूका अनुसार अधिवेशन सम्पन्न भएका वडाको नामावली बुधबार साँझसम्म सार्वजनिक गर्ने र निर्वाचन अधिकृत खटाएर बिहीबारदेखि पालिका अधिवेशन अघि बढाउने तयारी छ।
अधिवेशनका क्रममा पार्टीभित्र केही कमजोरी देखिएको स्वीकार गर्दै उनले त्यसलाई सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार मोरङमा २३ हजार सदस्यको सदस्यता अद्यावधिक गरिएको छ भने २५ हजार ७ सय सदस्यले सदस्यता नवीकरण गरेका छन्। नयाँ क्रियाशील सदस्यता १० हजारभन्दा बढी थपिएको उनले जानकारी दिए।
अधिवेशनबाट युवा तथा आम नेपालीको प्रतिनिधित्व हुने गरी कांग्रेसलाई नयाँ स्वरूपमा अघि बढाउने अपेक्षा रहेको लिम्बूले बताए।
पार्टीभित्रको विभाजनको असर अधिवेशनमा
कांग्रेसभित्र देखिएको विभाजनको असर मोरङको वडा अधिवेशनमा समेत परेको नेताहरूले बताएका छन्। विगतको तुलनामा यसपटक वडा अधिवेशनमा कार्यकर्ताको उत्साहजनक सहभागिता नदेखिएको उनीहरूको भनाइ छ।
अधिवेशनमा सहभागी केही नेता–कार्यकर्ताले सहमतिका नाममा मनोमानी गरिएको गुनासोसमेत गरेका छन्।
प्रभावशाली नेता डा. शेखर कोइराला महाधिवेशनमा सहभागी नभएपछि मोरङमा धेरै नेता–कार्यकर्ता महाधिवेशनप्रति उदासीन देखिएको सभापति लिम्बूले बताए। नेता–कार्यकर्ताको सहभागिता कम हुनुको विषय जिल्ला तहबाट मात्र समाधान गर्न नसकिने उनको भनाइ छ।
‘यो विषय जिल्ला स्तरबाट सम्बोधन हुँदैन,’ लिम्बूले भने, ‘केन्द्रले नै उचित निर्णय गर्नुपर्छ।’
पार्टीका प्रभावशाली नेता नै महाधिवेशनमा सहभागी नभएपछि स्थानीय नेता–कार्यकर्ता पनि अधिवेशनमा सहभागी हुन उदासीन हुनु स्वाभाविक भएको लिम्बूले बताए।

प्रतिक्रिया